काभ्रे, मंसिर २६ । बनेपा नगरपालिका–४ नाला बसपार्क परिसरमा समाज विकास तथा वातावरण सुधार नेपाल (सोडिन नेपाल)को आयोजनामा र राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहयोगमा “कृषकसँग अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका कम्पनी सचिव विष्णु बराल, वडा नं. ४ का कृषि प्राविधिक नवराज घिमिरे तथा सहकारी प्रतिनिधिहरुसहित स्थानीय कृषकहरूको उल्लेख्य उपस्थिति थियो।
कम्पनी सचिव बरालले कृषकले उत्पादनको उचित मूल्य नपाइरहेको, विषादीको अत्यधिक प्रयोगका कारण स्वास्थ्य जोखिम बढेको र कृषकहरू बीचौलियामा निर्भर हुनुपरेको अवस्थालाई औंल्याउँदै कम्पनीले उचित मूल्य सुनिश्चितता, आधुनिक कृषि प्रणाली, सामाजिक सुरक्षा, सीप–तालिम तथा विभिन्न सुविधा प्रदान गर्न लागेको बताए।
कम्पनीको सहायक संस्था आरकेसिएनएल फुड बैंकले पनौती–४ मा अत्याधुनिक ओजोन वासिङ्ग प्लान्ट स्थापनाको अन्तिम चरणमा रहेको, सर्लाही लालबन्दीमा डल्ले च्याउ तथा कम्पोस्ट प्लान्ट स्थापना हुँदै गरेको र कृषि प्रविधि उत्पादनका काम भइरहेको जानकारी दिइयो।
वडा कृषि प्राविधिक नवराज घिमिरेले किसानहरू विज्ञको सल्लाह नमान्ने, परीक्षणविहीन बीउ–बिजन र विषादी प्रयोग गर्ने तथा परम्परागत खेतीमै निर्भर रहँदा समस्या देखिएको बताए।
स्थानीय किसान रामप्रसाद संजेलले कृषि उपजको मूल्य निर्धारण र खरिद प्रक्रियाबारे जिज्ञासा राख्दै कम्पनीका कार्यक्रमहरू सकारात्मक भएकाले सहकार्य गर्न कृषकहरू उत्साहित रहेको बताए।
सोडिन नेपालले कृषकलाई सीप–तालिम, कृषि साक्षरता, विषादीको प्रभावबारे अभिमुखीकण, माटो सुधार अभियान तथा “कृषक परिवार” समूह गठन गर्दै देशका विभिन्न जिल्लामा कार्यक्रम विस्तार गरिरहेको जनाएको छ।
Published Date: 12 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1