भक्तपुर, मंसिर २० । भक्तपुर नगरपालिकाले दत्तात्रय क्षेत्रमा आयोजना गरेको योमारी प्रतियोगिता तथा प्रदर्शनी पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन भयो। उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)द्वारा गरिएको थियो।
उद्घाटन कार्यक्रममा बिजुक्छेँले नगरपालिकाले सञ्चालन गर्दै आएका सांस्कृतिक गतिविधिहरूले भक्तपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याइरहेको उल्लेख गरे। उनले यस्ता कार्यक्रमहरूले शहरको मौलिकता जोगाउन सहयोग पुग्ने पनि बताए।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि योमरी उत्सवलाई प्रतियोगितामूलक शैलीमा सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार नगरपालिका यहाँका मूर्त तथा अमूर्त सम्पदाको महत्त्व नयाँ पुस्तामा स्थापित गर्न स्थानीय पाठ्यक्रममार्फत अध्ययन–अध्यापन गराइरहेको छ।
नेमकिपाका बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले योमरी उत्सवले भक्तपुरको सांस्कृतिक सम्पन्नता उजागर गरेको बताए। उनले योमरीलाई सम्पन्नता, सभ्यता, प्रेम, हर्ष–उल्लास र विज्ञानको प्रतीकका रूपमा वर्णन गर्दै नयाँ पुस्ता सिर्जना र प्रगतितर्फ लाग्नुपर्ने धारणा राखे।
वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले उत्सवले स्थानीय संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पुरानो कला–संस्कृति र सभ्यता संरक्षण गर्नु सबैको दायित्व रहेको टिप्पणी गरे ।
उद्घाटन अघि भक्तपुर नपा वडा नं. १ इनागाबाट सुरु भएको सांस्कृतिक र्याली नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रय आइपुगेर सम्पन्न भयो। र्यालीमा उपप्रमुख रजनी जोशी तथा वडा अध्यक्ष श्यामकृष्ण खत्रीले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे।
उद्घाटनपछि प्रजापतिसहितको टोलीले सलाँ गणेश, क्वाठण्डौं, जेँला क्षेत्रका खाना महोत्सव तथा स्थानीय उत्पादन प्रदर्शनी, साथै सूर्यमढीमा आयोजित सांस्कृतिक कार्यक्रमको अवलोकन गर्यो।
योमारी प्रतियोगिता तथा प्रदर्शनीमा ६८ वटा स्टल सहभागी रहेका थिए। विभिन्न सांस्कृतिक बाजागाजा समूह, विद्यालय, सहकारी संस्था, नगर कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागितामा उद्घाटन र्याली नगर परिक्रमा गर्दै सम्पन्न भयो।
Published Date: 06 December 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1