काठमाडौँ, मंसिर १ । पानी नपरेपछि काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरको वायुको गुणस्तर ओह्रालो लाग्न थालेको छ। काठमाडौं उपत्यकामा प्रदूषण बढ्न थालेको वातावरण विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
विभागले जनाएअनुसार भक्तपुरको हावाको स्वच्छता सूचकांक (एक्युआई) खस्किएको छ। पछिल्लो २४ घन्टामा भक्तपुरको एक्युआई १२७ पुगेको छ। पछिल्लो एक घन्टामा भक्तपुरको एक्युआई १३३, काठमाडौं शंकखपार्कको १२६, रत्नपार्कको १२४, ललितपुर खुमलटारको ११७ पुगेको छ।
एक्युआई श्रेणीअनुसार शून्यदेखि ५० सम्म स्वच्छ, ५१ देखि एक सयसम्म सामान्य, १०१ देखि एक सय ५० सम्म सम्भावित जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, दुई सय एकदेखि तीन सयसम्म अत्यधिक अस्वस्थकर र तीन सय एकभन्दा माथि खतरनाक मानिन्छ।
अहिले काठमाडौं उपत्यकामा पुगेको जोखिमयुक्त हो। संवेदनशील उमेर समूह र अवस्थाकालाई यसले प्रभावित तुल्याउँछ।
पछिल्लो समय गत कात्तिक २२ गते यता देशको कुनै पनि केन्द्रमा वर्षा भएको छैन। कात्तिक २२ गते इलामको कन्याम चिया बगान केन्द्रमा १.४ मिलिमिटर वर्षा भएको थियो।
त्यसयता पानी नै नपरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
पछिल्लो केही दिनयतादेखि तापक्रम घट्दो क्रममा रहेको छ। राति तापक्रम अझै कम हुँदा वायुमण्डलमा रहेको धुलो कतै जान सक्दैन। जमेर बस्छ। त्यही कारण बिहानीपख प्रदूषण बढ्ने गरेको हो।
दिउँसो घाम चर्किंदै जाने र मध्याह्नपछि चल्ने हावाले त्यसलाई उडाएर लगेपछि मात्रै काठमाडौं उपत्यकाको प्रदूषण घट्ने गर्छ। काठमाडौं उपत्यकामा चोभार गल्छी, चन्द्रागिरि, मुड्खु भञ्ज्याङ आदि स्थानबाट हावा प्रवेश गर्दै साँगा भञ्ज्याङबाट बाहिरिन्छ। यसरी अपराह्नतिर बहने हावाले काठमाडौं उपत्यकाको वायुमण्डल सफा गर्ने हो।
अहिले ग्रामीण तथा सहरी भेगमा समेत बाली लगाउने बेला भएको छ। पुरानो बालीको अवशेष जलाउने, बाली लगाउन माटो तयार पार्ने क्रममा कृषि अवशेष जलाउने आदि गर्दा पनि प्रदूषणलाई सघाउ पुगेको छ। सहरी क्षेत्रमा विकास निर्माण पनि चलिरहेको छ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्म सडक विस्तार भइरहेको छ। भित्री सडक पनि निर्माणको क्रममा रहेकाले धूलो, धुवा उड्ने र वायुमण्डलमै थुप्रन थालेको छ।
काठमाडौं आसपासका जिल्लामा विकास निर्माण चलिरहेको छ। काठमाडौं जोड्ने प्रायः सडक निर्माणकै क्रममा छन्। काठमाडौंमा पनि चक्रपथको एउटा खण्ड विस्तारकै क्रममा छ।
त्यसो त काठमाडौं भित्रने हावा पनि स्वस्थकर छैन। मौसमविद विनोद पोखरेलले पानी नपर्ने र राति चिसो बढ्नाले वायुमण्डलमा धूलो–धुवाँको तह बढेको बताए।
‘पानी नपर्दा, राति चिसो बढ्नाले वायुमण्डलको तल्लो सतहमा जम्मा भएको प्रदूषण कतै जान नसक्नु प्रदूषण बढेको छ। यसका साथै हामी र भारतीयले पनि फोहोर र पराल जलाउँदा वायु प्रदूषण बढेको छ,’ उनले भने।
उनले आगामी दुई हप्ता वर्षाको कुनै सम्भावना नरहेको बताएका छन्। त्यसो त उनले यो हिउँदमा वर्षा नै कम हुने बताएका छन्। ‘यो हिउँदभरि पनि पानी पर्ने सम्भावना कम देखिन्छ। त्यसैले वायु प्रदूषणले विस्तारै नेपाललाई पनि ढाक्ने देखिन्छ आगामी दिनमा,’ उनले भने।
गत हिउँदमा औसतभन्दा निकै कम वर्षा भएको थियो। जसका कारण वायु प्रदूषण खतरनाक तहमासमेत पुगेको थियो।
पानी पर्न कम हुँदै गएपछि आगलागीका घटना बढेका छन्। नासाको भूउपग्रह प्रणालीबाट हेर्दा नेपालका पहाडी तथा केही हिमाली भेगमा आगलागी, वन डढेलोको घटना देखिएको छ। वन मन्त्रालयको वन डढेलो तथा पहिचान प्रणालीमा डढेलोसम्बन्धी तथ्यांक भने प्रविष्टि भएको छैन।
Published Date: 17 November 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1