राष्ट्र बैंकको खुद आम्दानी ८० अर्ब ४८ करोड रुपैयाँ

राष्ट्र बैंकको खुद आम्दानी ८० अर्ब ४८ करोड रुपैयाँ : Icon Khabar

काठमाडौं, मंसिर १ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि बढेको हो ।

राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ ।

विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीलाई प्रभावित बनाउँछ । पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि तथा आन्तरिक अर्थतन्त्र सुस्त हुँदा केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहँदै आएको छ ।

चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको कमाइ अघिल्लो आर्थिक वर्षको तुलनामा ९.११ प्रतिशतले धेरै हो ।

राष्ट्र बैंकले उक्त खुद आयलाई विभिन्न कोषमा छुट्याएपछि ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरु पौडेलले बताए ।

केन्द्रीय बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले धेरै हो । आर्थिक २०८०/८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो ।

पौडेलका अनुसार केन्द्रीय बैंकले आम्दानी गर्ने मुख्य स्रोत भनेको विदेशी मुद्राको लगानी हो । साथै वित्तीय प्रणालीमा तरलता संकुचन भएको अवस्थामा तरलता व्यवस्थापनबाट पनि केन्द्रीय बैंकलाई आम्दानी हुन्छ ।

पछिल्ला वर्ष अधिक तरलताका कारण राष्ट्र बैंकले ठूलै रकम खर्च गरेर तरलता व्यवस्थापन गर्दै आएको छ । गत वर्ष करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्चेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनका लागि गरिने खर्च गत आवको भन्दा धेरै हुने अनुमान छ ।

बैंकले गत आर्थिक वर्षको प्रतिवेदन पनि सरकारलाई बुझाइ सकेको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका हुन् ।

तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।

२०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ ।

Published Date: 17 November 2025


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली