काठमाडौं, मंसिर १ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार आएसँगै खुद आय पनि बढेको हो ।
राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ ।
विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीलाई प्रभावित बनाउँछ । पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि तथा आन्तरिक अर्थतन्त्र सुस्त हुँदा केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रहँदै आएको छ ।
चालु आर्थिक वर्षको असोजसम्मको तथ्याङ्कअनुसार कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्षको कमाइ अघिल्लो आर्थिक वर्षको तुलनामा ९.११ प्रतिशतले धेरै हो ।
राष्ट्र बैंकले उक्त खुद आयलाई विभिन्न कोषमा छुट्याएपछि ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरु पौडेलले बताए ।
केन्द्रीय बैंकले सरकारलाई उपलब्ध गराउने उक्त रकम अघिल्लो आवको तुलनामा ५ अर्बले धेरै हो । आर्थिक २०८०/८१ मा बैंकले ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई उपलब्ध गराएको थियो ।
पौडेलका अनुसार केन्द्रीय बैंकले आम्दानी गर्ने मुख्य स्रोत भनेको विदेशी मुद्राको लगानी हो । साथै वित्तीय प्रणालीमा तरलता संकुचन भएको अवस्थामा तरलता व्यवस्थापनबाट पनि केन्द्रीय बैंकलाई आम्दानी हुन्छ ।
पछिल्ला वर्ष अधिक तरलताका कारण राष्ट्र बैंकले ठूलै रकम खर्च गरेर तरलता व्यवस्थापन गर्दै आएको छ । गत वर्ष करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्चेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनका लागि गरिने खर्च गत आवको भन्दा धेरै हुने अनुमान छ ।
बैंकले गत आर्थिक वर्षको प्रतिवेदन पनि सरकारलाई बुझाइ सकेको छ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका हुन् ।
तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१/८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।
२०८२ असार मसान्तसम्मको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ ।
Published Date: 17 November 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1