मुस्ताङ, कार्तिक ११ । मुस्ताङमा यस वर्षको पहिलो हिमपात भएको छ । आज बिहानदेखि उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा हिउँ परेपछि स्थानीय जनजीवन प्रभावित भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार लोमान्थाङ गाउँपालिका, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उपल्लो र तल्लो मुस्ताङका उच्च लेकमा समेत हिउँ परेको बताए ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार बिहानैदेखि निरन्तर हिउँ परिरहेकाले मन्दिर पुग्ने भक्तजनलाई आवागमनमा कठिनाइ भएको छ । सोहीबेला, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उच्च स्थानमा बाक्लो र बस्ती नजिक हल्का हिमपात भएको बताए ।
वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेकाले चिसो अत्यधिक बढेको र जनजीवन प्रभावित बनेको जानकारी दिए । यद्यपि, उनले कात्तिकमै हिउँ परेकाले स्याउ तथा अन्य बालीका लागि यो लाभदायक भएको टिप्पणी गरे । उनका अनुसार हिउँले जमिनको भित्री तह सिञ्चित हुने भएकाले किसानका लागि यो मौसम बरदान सावित हुनेछ ।
यस्तै, प्रशासनले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । उक्त क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक दुर्घटनाको जोखिम बढेको जनाउँदै मुक्तिनाथ दर्शन गर्न जानेहरूलाई सतर्क रहन भनिएको छ ।
प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकखण्डका कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानमा हिउँ जमेकाले सवारीसाधन लैजान निषेध गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) का लोमान्थाङ कार्यालय प्रमुख उमेश पौडेलका अनुसार तिब्बत सीमा नजिकका छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ र सुरखाङ क्षेत्रमा पनि हिउँ परिरहेको छ । उनले उपल्लो मुस्ताङ जाने पर्यटकलाई सतर्क रहन सुझाव दिए ।
वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा वर्षा भइरहेको र आसपासका क्षेत्रमा बाक्लो हिउँ जमेकाले जनजीवन कठिन बनेको वडा अध्यक्ष कर्म घ्यचो गुरुङले जानकारी दिए । मुक्तिनाथ मन्दिर परिसर वरपर पनि बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे बनेका छन् ।
Published Date: 28 October 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1