मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो

मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो : Icon Khabar

मुस्ताङ, कार्तिक ११ । मुस्ताङमा यस वर्षको पहिलो हिमपात भएको छ । आज बिहानदेखि उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा हिउँ परेपछि स्थानीय जनजीवन प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लोमान्थाङ गाउँपालिका, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात भइरहेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उपल्लो र तल्लो मुस्ताङका उच्च लेकमा समेत हिउँ परेको बताए ।

मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार बिहानैदेखि निरन्तर हिउँ परिरहेकाले मन्दिर पुग्ने भक्तजनलाई आवागमनमा कठिनाइ भएको छ । सोहीबेला, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उच्च स्थानमा बाक्लो र बस्ती नजिक हल्का हिमपात भएको बताए ।

वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत गाउँमा बाक्लो हिउँ परेकाले चिसो अत्यधिक बढेको र जनजीवन प्रभावित बनेको जानकारी दिए । यद्यपि, उनले कात्तिकमै हिउँ परेकाले स्याउ तथा अन्य बालीका लागि यो लाभदायक भएको टिप्पणी गरे । उनका अनुसार हिउँले जमिनको भित्री तह सिञ्चित हुने भएकाले किसानका लागि यो मौसम बरदान सावित हुनेछ ।

यस्तै, प्रशासनले वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ । उक्त क्षेत्रमा बाक्लो हिउँ जमेकाले सडक दुर्घटनाको जोखिम बढेको जनाउँदै मुक्तिनाथ दर्शन गर्न जानेहरूलाई सतर्क रहन भनिएको छ ।

प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकखण्डका कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानमा हिउँ जमेकाले सवारीसाधन लैजान निषेध गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) का लोमान्थाङ कार्यालय प्रमुख उमेश पौडेलका अनुसार तिब्बत सीमा नजिकका छोसेर, छोन्हुप, लोमान्थाङ, चराङ र सुरखाङ क्षेत्रमा पनि हिउँ परिरहेको छ । उनले उपल्लो मुस्ताङ जाने पर्यटकलाई सतर्क रहन सुझाव दिए ।

वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा वर्षा भइरहेको र आसपासका क्षेत्रमा बाक्लो हिउँ जमेकाले जनजीवन कठिन बनेको वडा अध्यक्ष कर्म घ्यचो गुरुङले जानकारी दिए । मुक्तिनाथ मन्दिर परिसर वरपर पनि बाक्लो हिमपात भएपछि डाँडाकाँडा सेताम्मे बनेका छन् ।

Published Date: 28 October 2025




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न