कमलविनायक–मूलढोका सडक अत्यन्त दयनीय अवस्थामा

सडक पिच नष्ट, खाल्डाखुल्डी र हिलोबीच जोखिममा स्थानीयवासी

कमलविनायक–मूलढोका सडक अत्यन्त दयनीय अवस्थामा : Icon Khabar

भक्तपुर, असोज १४ । भक्तपुरको कमलविनायक–मूलढोका सडक विगत कैयौँ वर्षदेखि अत्यन्त दयनीय अवस्थामा छ। यस सडकमा हाल पिचको नामोनिशान मेटिएको छ भने ठाँउ–ठाँउमा ठूलो खाल्डाखुल्डी बनेका कारण हिलाम्य र पानी जम्ने समस्या दिनहुँ बढ्दै गएको छ। वर्षा भएलगत्तै यो बाटो धान रोपाइँ गर्ने खेतझैँ चिपचिपे र चिप्लो बन्ने भएकाले पैदलयात्रीदेखि सवारी चालकसम्म उच्च जोखिममा पर्न बाध्य भएका छन्।

यस क्षेत्रमा आवतजावत गर्ने विद्यार्थी, व्यापारी, दैनिक मजदुरी गर्ने कामदारदेखि स्थानीय बासिन्दासम्मलाई सडक अवस्थाले दैनिक दु:ख दिएको छ। मोटरसाइकल र साना सवारीसाधनलाई त झन् ठूलो चुनौती भएको छ। पानी जमेको खाल्डो देखिन नसक्दा दुर्घटनाको सम्भावना हरेक दिन बढिरहेको छ।

नेपाल विद्युत प्राधिकरणले भूमिगत तारको मर्मत तथा विस्तारका क्रममा बाटो खनेर छाडिदिँदा समस्या झन् बढेको छ। तार तान्ने काम सकेपछि खाल्डाखुल्डी पुरै छोपेर नछाड्दा सडक प्रयोगकर्ताले थप पीडा खेपिरहेका छन्। स्थानीयवासीका अनुसार सम्बन्धित निकायले अव्यवस्थित रूपमा काम गर्दा सडकको अवस्था निरन्तर बिग्रँदै गएको छ।

“हामीले धेरैपटक सम्बन्धित निकायलाई सडक छिट्टै मर्मत गर्न माग गरिसकेका छौँ। तर, हाम्रो आवाजलाई बेवास्ता गरिएको छ,” कमलविनायकका एक स्थानीयले भने। उनीहरूका अनुसार विगत केही वर्षदेखि यही समस्यामा बाँधिँदै आउँदा बालबालिकादेखि वृद्धवृद्धासम्म दैनिक रूपमा जोखिममा परिरहेका छन्।

सडकमा खाल्डाखुल्डी र हिलाम्य अवस्था मात्र नभई सवारीसाधनका धुलो–धुवाँले वातावरणसमेत प्रदूषित बनाइरहेको छ। वर्षात्को समयमा चिप्लिने र हिलाम्य समस्याले दुर्घटना सम्भावना बढ्छ भने हिउँदमा धुलाम्य वातावरणले स्थानीयको स्वास्थ्यमा असर पार्ने गरेको गुनासो छ।

यता, सडक मर्मत तथा व्यवस्थापन गर्ने जिम्मेवार निकाय भने यसबारे खासै चासो नदेखाएको स्थानीयवासीको आरोप छ। उनीहरूका अनुसार पटक–पटक गुनासो, अनुरोध र ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको हो।

सम्बन्धित निकाय समयमै सचेत नभए कमलविनायक–मूलढोका सडक दुर्घटनाको हट्स्पट बन्न सक्ने स्थानीयवासीले चेतावनी दिएका छन्। तत्काल सडक पुनर्निर्माण, नाला–निकासको व्यवस्थापन र अव्यवस्थित रूपमा भइरहेको भूमिगत तार बिछ्याउने कार्यलाई व्यवस्थित नगरेसम्म समस्या झन् गम्भीर बन्ने देखिन्छ।

https://www.facebook.com/reel/782489334707862

Published Date: 30 September 2025




ताजा
भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने
सोमबार सुनको भाउ बढ्यो
धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित
तीन प्रदेशमा बदली र वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावाको जोखिम




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य