गो लोकल पुस्तक सार्वजनिक

गो लोकल पुस्तक सार्वजनिक : Icon Khabar

भक्तपुर, भदौ २२ । भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा तयार पारिएको ‘गो लोकल’ पुस्तकको आज एक समारोहबीच सार्वजनिक गरिएको छ। विगत पाँच वर्षदेखि गरिएको अनुसन्धान र तथ्या‌ङ्क संकलनपछि भक्तपुरका १५ वटा मौलिक उत्पादनहरूलाई सूचीकृत गर्दै पुस्तक तयार पारिएको हो।

सो पुस्तकको सार्वजनिकरण संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री माननीय विन्दु श्रेष्ठ द्वारा संयुक्त रुपमा गरिएको थियो।

समारोहमा प्रमुख अतिथि मन्त्री सुरेश श्रेष्ठले मौलिक उत्पादनहरूलाई पुस्तकमार्फत चिनाउने प्रयासप्रति प्रशंसा गर्दै उत्पादनमा देखिएको कैफियतका कारण उद्योगहरू संकटमा परेको उल्लेख गरे। उनले ती उद्योगको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश मन्त्रालय प्रतिबद्ध रहेको बताए।

त्यस्तै, मन्त्री विन्दु श्रेष्ठले रैथाने उत्पादनलाई ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रिय बजारमा लैजान सक्दा मात्र घरेलु उद्योगको दिगोपन सम्भव हुने बताए। कच्चा पदार्थको अभाव भएको अवस्थामा रैथाने बीउ जोगाउने र कच्चा पदार्थ स्थानीय रूपमा उत्पादन गर्न प्रदेश र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले घरेलु तथा साना उद्योगको संरक्षण बिना देशको आर्थिक विकास असम्भव भएको बताए। उनले गो लोकल कार्यक्रमको उपलब्धि समिक्षा गर्दै आगामी रणनीति बनाउने आवश्यकता रहेको बताए।

उद्योग तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद कुस्माले उक्त पुस्तकले भक्तपुरका मौलिक उत्पादनको दस्तावेज तयार गरेकोमा खुसी व्यक्त गर्दै सीपमूलक तालिममार्फत सीपको संरक्षण भइरहेको जानकारी दिए।

कार्यक्रममा गो लोकल संयोजक विरेन्द्र जतिले कार्यक्रमको उद्देश्य, उपलब्धि र चुनौतीबारे जानकारी गराउँदै सहसंयोजक रामसुन्दर भेलेले पाँच वटा उत्पादनको संक्षिप्त श्रव्यदृश्य प्रस्तुति दिएका थिए।

कार्यक्रम संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने भक्तपुर पर्यटन विकास समितिका महासचिव रविन्द्र श्रेष्ठले कार्यक्रमबारे मन्तव्य व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 September 2025
Website | + posts