पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक

पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक : Icon Khabar

सिन्धुपाल्चोक, साउन २२ । पेट दुखेपछि अस्पताल पुर्‍याइएकी एक नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ ।

जिल्लाको सदरमुकाम चौतारा नजिक चौतारा साँगा चोकगढी नगरपालिकाकी एक नाबालिकामाथि विगत ९ महिनादेखि यौन दुर्व्यवहार हुँदै आएको खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रहरी सिन्धुपाल्चोकका सूचना अधिकारी नायब उपरीक्षक माधवराज खरेलका अनुसार मंगलबार पेट दुखेपछि परिवारले उनलाई अस्पताल पुर्‍याएका थिए । अस्पतालमा सुत्केरी प्रक्रियाका क्रममा किशोरीको उमेरप्रति चिकित्सकले शंका गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा स्थानीय ५० वर्षीय श्रेष्ठ थरका एक पुरुषले पटक–पटक जबरजस्ती करणी गर्दै आएको खुल्न आएको प्रवक्ता डिएस्पी खरेलले जानकारी दिए । सुत्केरी भएपछि किशोरीले बच्चा जन्माएकी छन् ।

बलात्कारपछि उनी गर्भवती भएकी थिइन् । डिएसपी खरेलका अनुसार पीडित किशोरीले आफूमाथि भएको यौन हिंसा वा गर्भवती भएकोबारे न त परिवारलाई जानकारी दिएकी थिइन्, न त परिवारले नै समयमै ध्यान दिएका थिए ।

‘प्रहरीले घटनाबारे सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणीसम्बन्धी मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ,’ उनले भने ।

पीडित किशोरी र नवजात शिशु दुवैको स्वास्थ्य अवस्थाबारे अस्पतालले आवश्यक उपचार प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले घटनाको गम्भीरता हेरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 August 2025
Website | + posts