रसुवाको बाढीमा भेटिएका शव र मानव अङ्ग शिक्षण अस्पताल ल्याईदै

रसुवाको बाढीमा भेटिएका शव र मानव अङ्ग शिक्षण अस्पताल ल्याईदै : Icon Khabar

काठमाडौं, असार २५ । रसुवाको गोसाइंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा लेन्डे खोला हुँदै आएको विनाशकारी बाढीले ज्यान गुमाएकाहरूको शव र मानव अङ्गहरू काठमाडौं ल्याउन तयारी गरिएको छ।

बाढीका कारण ज्यान गुमाएका पीडितहरूको शव र टुक्रिएका मानव अङ्गहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि पठाइँदै छन्। बागमती प्रदेशका डीआईजी अरुण पौडेलका अनुसार शवहरू फरक–फरक स्थानमा फेला परेका छन्। उनले भने, “शव र मानव अङ्गहरू छुट्टाछुट्टै ठाउँमा भेटिएका छन्, सबैलाई त्रिवि शिक्षण अस्पताल पठाउँदै छौं।”

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–चीन सीमावर्ती क्षेत्र हुँदै आएको बाढीले कम्तीमा ९ जनाको ज्यान लिएको पुष्टि भएको छ। तीमध्ये हालसम्म एकजनाको मात्र सनाखत भएको छ। उद्धारमा खटिएका प्रहरीका असई (सहायक निरीक्षक) लालबहादुर श्रेष्ठको मात्र पहिचान खुलेको छ। उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलो भन्ने स्थानमा भेटिएको हो।

डीआईजी पौडेलका अनुसार अन्य शवहरूको सनाखत अझै हुन सकेको छैन भने केही अवस्थामा मृतकका हात, खुट्टा वा अन्य शारीरिक अङ्ग मात्र फेला परेका छन्।

खोज तथा उद्धार कार्यका लागि डीआईजी पौडेल स्वयं र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवाको स्याफ्रुमा खटिएका छन्।

बाढीका कारण हालसम्म १९ जना अझै सम्पर्कविहीन अवस्थामा छन्। उद्धार कार्य तीव्र पारिएको भए पनि कठिन भूगोल र मौसमका कारण थप चुनौती देखा परेको अधिकारीहरूले बताएका छन्।

बाढीको यथार्थ विवरण, क्षतिको पूर्ण मूल्याङ्कन र सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य अझै जारी छ।

Published Date: 09 July 2025






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न