रसुवा, असार २४ । चीनको तिब्बतबाट बग्ने लेन्दी खोलामा मंगलबार बिहान आएको भीषण बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको ठाउँ ठाउँमा बाटो संरचना भत्किएको छ । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिरोले कम्तीमा १० स्थानमा सडक भत्काउँदा उद्धार तथा राहत कार्य ठप्प बनेको छ ।
‘नौदेखि दश ठाउँमा बाटो भत्किएको छ, उद्धार र राहत सम्भव हुन सकिरहेको छैन, अध्यक्ष तामाङले भने। बाढीले टिमुरे र रसुवागढी क्षेत्रमा अत्यधिक क्षति गरेको स्थानीय प्रशासनका पदाधिकारीको भनाइ छ । नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरूपमा बगाइसकेको छ। ड्राइपोर्टमा राखिएका विद्युतीय गाडीहरू बगेका छन्।
उनका अनुसार अहिलेसम्म ९ जनाको उद्धार गरिएको छ । मौसम अझै प्रतिकूल भएकोले थप उद्धार कार्य जटिल बनेको उनले बताए।
स्थानीय बस्तीमा बाढी पसेको छैन, तर खोलाको किनारमा रहेका हाइड्रोपावर र ड्राइपोर्टका संरचनाहरूमा गम्भीर क्षति पुगेको बताइएको छ। अध्यक्ष तामाङ अहिले सदरमुकाम धुन्चेबाट समन्वय गरिरहेको बताए। माथिल्लो क्षेत्रमा पानी पर्न अझै नरोकिएकाले जोखिम कायमै छ, सबैलाई सतर्क रहन उनले आग्रह गरिएको बताए।
Published Date: 08 July 2025