भक्तपुर, जेठ २३ । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा विश्व वातावरण दिवसको अवसरमा आज चाँगुनारायण नपा वडा नं. ६ स्थित खानेपानी मुहान पोखरीमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खानेपानीका मुहानहरु सुक्ने क्रम बढिरहँदा खानेपानी आपूर्तिमा समस्या भइरहेको बताउँदै मानवीय क्रियाकलापले गर्दा पनि पानीका स्रोत र मुहानहरु फोहोर हुने र सुक्ने गरेको बताए।
वनविनासले पनि खानेपानीका मुहानहरुमा क्षति पु¥याइरहेको बताउँदै उहाँले मुहान पोखरीलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न आवश्यक पहल गरिरहेको बताए।
खानेपानीको नयाँ नयाँ स्रोतहरु पनि खोजी हुनुपर्ने र पानीको स्रोतलाई संरक्षण गर्नु सबैको दायित्व हो, प्रमख प्रजापतिले भने।
चाँगुनारायण नपा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर तामाङले मुहानपोखरी संरक्षण र सरसफाइलाई चाँगुनारायण नपाले पनि प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै मुहानमा विभिन्न अवाञ्चित गतिविधि रोक्ने विषयमा पहलहरु भइरहेको र मुहान संरक्षणको लागि तारबार लगाउनुपर्ने आवश्यकता रहेको बताए।
कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी संस्था लि. भक्तपुरका प्रमुख अनिलकुमार खत्रीले खानेपानी मुहान संरक्षण गर्ने अभियानमा नगरबासीहरुको सहभागिता प्रशंसनीय भएको बताए। सरसफाइ कार्यक्रममा भक्तपुर नपा र चाँगुनारायण नपाका जनप्रतिनिधि, कर्मचारी, स्काउट, नेपाल प्रहरी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
Published Date: 05 June 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1