काठमाडौँ, वैशाख ३१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाएको प्रतिबन्ध हटाउने घोषणा गरेका छन्।
खाडी मुलुकहरूको तीन दिने भ्रमणमा निस्किएका ट्रम्पले मंगलबार साउदी अरबमा भएको साउदी- अमेरिका लगानी संयन्त्रको सम्मेलनमा उनले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन्।
सिरियालाई मौका दिन म उनीहरूमाथिको प्रतिबन्ध हटाउने आदेश दिनेछु,’ ट्रम्पले सम्मेलनमा भने, ‘अब उनीहरूका लागि गरेर देखाउने बेला आएको छ। शुभकामना सिरिया!हामीलाई केही विशेष देखाऊ,’ ट्रम्पले भने।
यो घोषणा सिरियाका लागि ऐतिहासिक रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्पको घोषणापछि सिरियाका नागरिकहरूले खुसियाली मनाएका छन्।
साउदी राजकुमार मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति तयिप अर्दोगानले सिरियामाथिको प्रतिबन्ध हटाउन विशेष आग्रह गर्दै आएका थिए। ट्रम्पले साउदी राजकुमार र टर्किस राष्ट्रपतिसँगको छलफलपछि प्रतिबन्ध हटाइएको बताएका छन्।
अमेरिका, युरोपेली युनियन लगायत विश्वका अधिकांश मुलुकहरुले सिरियामाथि आतंकवादलाई समर्थन गरेको भनेर प्रतिबन्ध लगाएको थियो।
बसर अल असदको पालामा गृहयुद्ध र मानवअधिकार उल्लंघनका घटनाहरूका कारण अमेरिकाले सन् २००४ देखि सिरियामाथिको प्रतिबन्ध कडा पारेको थियो। पछि सन् २०११ मा कार्यकारी आदेश नै जारी गरी अमेरिकाले सरियाली सरकारको अमेरिकाभित्र रहेको अन्तर्राष्ट्रिय सम्पत्ति रोक्का गरेको थियो।
२०२० मा सिरियाली सरकार र सेनालाई सहयोग गर्ने तेस्रो देशलाई पनि अमेरिकाको निशानामा परेका थिए। सिरिया सरकारसँग सम्बन्ध राख्ने तेस्रो मुलुलाई पनि अमेरिकाले बैंकिङ, व्यापार र लगानीमा प्रितिबन्ध लगाएको थियो।
सिरियाको तेल उद्योगमाथि प्रतिबन्ध लगाउँदै उनीहरूको तेल खरिद गर्ने कम्पनीहरूलाई पनि कालोसूची राखेको थियो। त्यति मात्रै होइन सिरियाली सरकारका उच्च अधिकारीहरू, मन्त्री, सैन्य अधिकारीहरू, असद परिवारका सदस्यहरूको सम्पत्ति पनि अमेरिकाभित्र रोक्का गरिएको थियो भने उनीहरुमाथि भिसा प्रतिबन्ध पनि लगाइएको थियो।
त्यस्तै सिरियाली विमान कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाइएको थियो भने कार्गो र व्यापारिक जहाजहरूलाई पनि अमेरिकी बन्दरगाहमा प्रवेश निषेध गरिएको थियो।
ट्रम्पले सबै प्रतिबन्ध हटाउने हुन् कि केही प्रतिबन्धमात्रै हटाउने हुन् भन्ने यकिन नभएको रोयटर्सले जनाएको छ।
सिरियामा गत डिसेम्बरमा बसर अल असदको शासनको अन्त्य भएको थियो। त्यतिबेला विद्रोही समूहको नेतृत्व गरेका अहमद अल शाराले अहिले सिरियामा शासन गरिरहेका छन्।
ट्रम्पको उक्त घोषणाबाट इसराइल सशंकित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
आफूलाई सिरियाका अन्तरिम राष्ट्रपति घोषणा गरेका शाराको पृष्ठभूमिलाई लिएर इसराइलले अझै पनि सिरियामाथि सैन्य कारबाही गर्दै आएको छ।
शारा २०१६ मै अल-कायदाबाट अलग भए पनि इसराइलले उसलाई अझै शंकास्पद भनेर सिरियामा आक्रमण गरिरहन्छ। ट्रम्पको यो घोषणापछि इसराइलले कुनै प्रतिक्रिया दिएको छैन।
Published Date: 14 May 2025
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1