बिस्का जात्राका लागि भेलुखेलमा ल्याइयो ५५ हात लामो दुईवटा लिङ्गो

बिस्का जात्राका लागि भेलुखेलमा ल्याइयो ५५ हात लामो दुईवटा लिङ्गो : Icon Khabar
फाइल फोटो

भक्तपुर, फागुन १९ । भक्तपुरको प्रसिद्ध बिस्का जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ ।

तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो ढालेर भव्यरूपमा जात्रा मनाउने चलन छ ।

जात्रामा एउटा लिङ्गो उठाइने भए पनि भाचिने सम्भावना रहेकाले जगेडा लिङ्गो पनि ल्याउने प्रचलन छ । यस वर्ष लिङ्गो भाचिएन भने जगेडा रहेको लिङ्गो आगामी वर्ष प्रयोगमा ल्याउने गरिन्छ । जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिङ्गोको टुप्पोमा नाग र नागिनीको चिह्न मानिने ‘हलिङ्पत’रहेको हुन्छ भने लिङ्गो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली रथलाई अगाडि ल्याउने गरिन्छ ।

चित्तपोलको सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो लिङ्गो मानिसले हातले तानेर ल्याउने मल्लकालीन परम्परा रहे पनि विगत केही वर्षयता गुठी कार्यालय भक्तपुरले लगाउने ठेक्काअनुसार डोजरले तानेर ल्याउन थालिएको हो ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख खिमा वलीले लिङ्गो ल्याउन बोलपत्र आह्वान भइ बिस्का जात्रा सहयोग समितिले ठक्का पारेर दुईवटा लिङ्गो ल्याएको बताए । उनले भने, ‘बिस्का जात्राको तयारी सुरू गरिसकेका छौँ । लिङ्गो ल्याउन तीन लाख ४८ हजारको ठेक्का लगाएर हिजो मात्र ल्याइपुराएको छ आज हामी त्यसको अनुगमन गर्दैछौँ । रथ निर्माण कार्य सुरू भएको छ । यस वर्ष भैरव र भद्रकालीको रथको सबै पाङ्ग्रा नयाँ बनाउने काम सुरू भएको छ ।’

जङ्गलमा रूख छनोट गरी काट्नु अगाडि गुठी संस्थानबाट पूजाका लागि दुई वटा बोका, एउटा हाँस र पूजाका भेटी खर्च उपलब्ध गराएको थियो । – रासस

Published Date: 03 March 2025
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय