भक्तपुर, माघ २७ । भक्तपुर नगरपालिकाले नगरपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ पारित गरेको छ। नगरपालिकाको तेह्रौं नगरसभाको बिहीबार बसेको नगरसभाको बैठकबाट भक्तपुर नगरपालिका (नगर कार्यपालिका तथा समिति) को बैठक सञ्चालनसम्बन्धी कार्यविधि, २०७९ सर्वसम्मतिले पारित गरेको हो।
सो कार्यविधिमाथि भएको छलफलमा सभासद्हरु नारायणप्रसाद त्वानाबासु र हरिरत्न गोर्खालीले जिज्ञासा राखेका थिए र उक्त जिज्ञासामाथि रबिन्द्र ज्याख्वले प्रष्ट पारेका थिए। नगरसभाको विशेष समयमा उपस्थित सभासद्हरुले नगरको सरसफाई, खानेपानी समस्या, विकास निर्माण, कृषिलगायतका विषयमा आआफ्नो धारणा राखेका थिए।
सभामा उठेका जिज्ञासामाथि शिक्षा, संस्कृति स्वास्थ्य समितिका सदस्य रबिन्द्र ज्याख्वले आधारभूत विद्यालय स्तरोन्नतिको लागि भक्तपुर नपाले विद्यालयको निरीक्षण गरी आर्थिक अनुदानहरु प्रदान गर्दै आइरहेको, स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षक–शिक्षिकाहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने, वडा नं. ६ को शिशुस्याहार केन्द्र अन्य स्थानमा स्थानान्तरण गर्न उपयुक्त ठाउँको खोजी भइरहेको, शवबाहन खरिद प्रक्रियामा कानुनी झन्झट भइरहेकोलगायतको धाराणा राखे।
पार्किङ व्यवस्थापन र खानेपानी विषयमा वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरभित्र पार्किङ व्यवस्था गर्न वडा नं. १ मा दुईवटा पार्किङस्थल व्यवस्था गरिसकेको, नगरभरि मेलम्चीको पानी आपूर्तिको लागि निर्माण समितिमा आवश्यक छलफल समेत भइरहेको सभामा जानकारी गराए।
निर्माण समितिका संयोजक उकेश कवांले सरकारले भक्तपुर नपाको लागि पर्याप्त पुँजीगत बजेट विनियोजन नगरेको हुँदा विकास निर्माण कार्यमा ढिलाइ भइरहेको, बजेट अभावकै कारण अरनिको सभाभवनको कार्य अगाडि बढाउन सकिरहेको प्रष्ट पारे।
सभामा सभाका अध्यक्ष तथा नगर प्रमुख सुनिल प्रजापतिको अनुमतिमा विधान समितिका सदस्य कृष्णप्रसाद कोजुले भक्तपुर नगरपालिका, युवा उद्यमशीलता प्रवद्र्धन ऋण परिचालन सम्बन्धमा बनेको निर्देशिका, २०७९ छलफलको लागि सभामा प्रस्तुत गरेका थिए।
नगरसभाको अर्को बैठक फागुन १ गते दिनको १ बजे बस्नेछ।
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1