ह्युमपाइपले जोड्यो सिन्धुपाल्चोकको तातोपानी नाका

ह्युमपाइपले जोड्यो सिन्धुपाल्चोकको तातोपानी नाका : Icon Khabar

सिन्धुपाल्चोक, असोज २० । गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।

गएको शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार, भोटेकोसी गाउँपालिका–२, लार्चामा ह्युमपाइप राखेर साना सवारीसाधन आवतजावत गराइएको छ । ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार, ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन ‘पास’ गराइएको छ । लार्चामा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिए पनि कोदारीको पहिरो र लिपिङखोलामाथि पुल राख्न अझै बाँकी रहेको उनले बताए ।

लार्चामा ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारी आवतजावत गराउन कठिनाइ भएको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पाको भनाइ छ । भोटेकोसीको बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका निम्ति तुइन समेत राखिएको छ । लार्चामा रहेको बेलिब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए ।

पुल बगाएपछि ठप्प बनेको तातोपानी नाका लार्चामा तुइन बनाइएपछि स्थानीयलाई आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो ।

तातोपानी नाका अवरुद्ध हुँदा दसैंका निम्ति चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब ९०० भन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए । – रासस

Published Date: 07 October 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग