परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता : Icon Khabar

वासिङटन डिसी, असोज ९ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन वाससँग न्युयोर्कमा भेटघाट भएको छ । भेटका अवसरमा दुई देशबिच दशकौँदेखि रहँदै आएको सहकार्यलाई उच्चस्तरीय भेटघाटको आदानप्रदानले थप मजबुत बनाउन सहयोगी हुने विश्वास व्यक्त गरिएको थियो ।

सो अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्वपूर्ण भएको उल्लेख गरेकी थिइन् । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उनीहरुको छलफल भएको थियो । नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबिच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रता जस्ता विषयमा साझा मूल्यमान्यता रहेको विषयमा कुराकानी भएको थियो ।

मन्त्री राणाले दुई देशबिच विगत वर्षहरुमा हुँदै आएका विभिन्न तहको भ्रमणको आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन प्रेरक भूमिका खेलेको बताइन् । उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकी सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिइन् ।

मन्त्री राणाले अमेरिकी सहयोग नियोगले सन् २०२२ देखि २०२७ सम्ममा ६५ करोड ९० लाख अमेरिकी डलर नेपालको शिक्षाको गुणस्तर सुधारलगायत क्षेत्रमा खर्च गर्नेगरी प्याकेज कार्यक्रमसम्बन्धी गत वर्ष भएको सम्झौताको स्मरण गर्दै सहयोग निरन्तररुपमा प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

हालै काठमाडौँमा दुई देशबिच सातौँ व्यापार तथा लगानी ‘फ्रेमवर्क’ सम्झौतासम्बन्धी काउन्सिलको बैठक सम्पन्न भएकामा उनले खुसी व्यक्त गरिन् । उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील देशमा स्तरोन्नति हुने प्रक्रियालाई सरल परिवर्तन रणनीति अङ्गीकार गरेको र यो ऐतिहासिक कोसेढुङ्गाालाई सार्थक तुल्याउन आवश्यक पर्ने स्रोत र आर्थिक साझेदारीका लागि अमेरिकाको सहयोगको आवश्यकता रहेको उल्लेख गरिन् । – रासस

Published Date: 25 September 2024
ताजा
मंगलबार सुनको भाउ तोलामै ३ हजार ७०० रुपैयाँले बढ्यो
काठमाडौंका तत्कालीन सिडियो छवि रिजाल पक्राउ
मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने मन्त्री गौतमको निर्णय
पहाडी र हिमाली भू-भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता