पहिरोले अवरुद्व घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुल्यो

पहिरोले अवरुद्व घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुल्यो : Icon Khabar

कास्की, असोज ९ । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेकोे छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो । सो सडक मंगलबारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए । सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । पूर्वाधार विकास कार्यालयको २५ लाख र दुई लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताए ।

“सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भिरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरेका छौँ”, उनले भने ।

अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र लामो समयदेखिको अवरोध हटेको बताए । पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकामा घान्द्रकका पर्यटन व्यवसायी उत्साही छन् । घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरुङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकामा समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरे ।

उनले भने, “घान्द्रुक गाउँ नजिकै सडक भासिएको थियो । एउटा गाडीमा गएर, बीचमा झरेर अलिकति हिँडेर अर्को गाडीमा जानुपर्ने बाध्यता थियो । घान्द्रुकको स्थानीयलाई गाह्रो भयो । पर्यटक आउने जाने कुरामा अप्ठेरो भएको थियो । अब सहज भएको छ ।”

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।

घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक एबिसी पुग्छन् । पछिल्लो समय घान्द्रुक पर्यटनको ‘हब’ बन्दै गएको छ । गुरुङ संस्कृतिसँग रमाउन र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक वर्षभरि नै यहाँ पुग्ने गर्दछन् । – रासस

Published Date: 25 September 2024
ताजा
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी