काठमाडौँ, असोज १ । आज इन्द्रजात्राको प्रमुख दिन हनुमानढोका दरबार क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने आज पहिलो दिन देशका प्रमुखहरूको उपस्थिति रहने हुनाले सुरक्षा व्यवस्था कडा पारिएको हो।
इन्द्रजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिंगको फेदमा भैरवको पूजा गरिन्छ।
Published Date: 17 September 2024