एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण

एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण : Icon Khabar

काठमाडौं, भदौ १७ । सरकारले निजी दूरसञ्चार कम्पनी एनसेलको अनुमतिपत्र (लाइसेन्स) पाँच वर्षका लागि नवीकरण गरेको छ । सरकारले सर्तसहित एनसेलको लाइसेन्स आइतबार नवीकरण गरेको हो ।

गत साता बिहीबार (१३ भदौ) मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीरकण गर्ने निर्णय गरेको थियो । त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो ।

लाइसेन्स नवीकरण भएको दूरसञ्चार प्राधिकरणको पत्र एनसेलले बुझेको छ । तर, यसबारे एनसेलले औपचारिक रूपमा केही सार्वजनिक भने गरेको छैन । एनसेलको लाइसेन्सको म्याद आइतबार (१६ भदौ) मा सकिएको थियो ।

दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलका अनुसार एनसेलले आइतबार थप १ अर्ब रुपैयाँ भुक्तानी गरेपछि उसको लाइसेन्स नवीकरण भएको हो । एनसेलले यसअघि १४ जेठमा ४ अर्ब रुपैयाँ बुझाएको थियो ।

एकमुष्ट नवीकरण दस्तुर तिर्न नसक्ने भन्दै एनसेलले यसअघि किस्ताबन्दी सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको थियो ।

एनसेलको आग्रहपछि सरकारले किस्ताबन्दी सुविधा दिएको थियो । अहिले पनि किस्ताबन्दी सुविधा अनुसार नै एनसेलको लाइसेन्स नवीकरण भएको निर्देशक पौडेलले जानकारी दिए ।

प्राधिकरण निर्देशक पौडेलका अनुसार एनसेलले नवीकरण दस्तुर बापत प्रत्येक पाँच वर्षमा २० अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ । यसमा सरकारले किस्ताबन्दी सुविधा दिएका कारण प्रत्येक वर्ष ५ अर्ब र १० प्रतिशत ब्याजदर भुक्तानी गर्नुपर्ने सर्त १३ भदौको मन्त्रिपरिषद् बैठकले राखेको थियो । – अनलाइन खबरबाट साभार

Published Date: 02 September 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न