नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत खपत तीन गुणाले बढ्यो: प्राधिकरण

नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत खपत तीन गुणाले बढ्यो: प्राधिकरण : Icon Khabar

काठमाडौँ, भदौ ९ । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको छ ।

आर्थिक वर्ष (आव) (२०७२/०७३)मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०/०८१मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो । आठ वर्षअघि विद्युत् खपत वृद्धिदर नै ऋणात्मक थियो ।

गत आवमा सबैभन्दा बढि ग्रार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत् खपत भएको छ । बाँकी विद्युत् अन्य समूहका ग्राहकले खपत गरेका हुन् । आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति उर्जा खपत गत आवसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।

आठ वर्षअघि वर्षायाममासमेत दैनिक आठ घण्टा लोडसेडिङ थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो । २०७३ को कात्तिकबाट काठमाडौँ उपत्यका हुँदै क्रमिक रुपमा देशका प्रमुख सहरहरुका ग्राहस्र्थतर्फका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । २०७५ वैशाखबाट सिङ्गो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

आठ वर्षअघि ५८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र २ प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघुजलविद्युत, सौर्य ऊर्जालगायतबाट विद्युत उपभोग गरिरहेका छन् । आव वर्षअघि विद्युत्का ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त निरन्तर विद्युत आपूर्ति हुनथालेपछि विद्युत् खपत बढेको बताए।

‘‘ठुला तथा साना उद्योगहरुले निरन्तर विद्युत् आपूर्ति पाइरहेका छन्, यसअवधिमा उद्योगहरुको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउनलगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणहरुको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रुपमा गरिएको छ जसका कारण आन्तरिक रुपमा विद्युत्को खपत बढिरहेको छ,’’ कार्यकारी निर्देशक घिसिङले भने।

उनले भने, ‘‘हरेक वर्ष विद्युत् माग बढेसँगै विद्युत् आपूर्तिमा चुनौती थपिएका छन्, त्यस्ता चुनौती र समस्याको समाधान गरी उपभोक्तालाई भरपर्दो, गुणस्तरीय, सुरक्षित विद्युत् आपूर्तिका देशका प्रमुख शहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी सन् २०५० सम्मको मागलाई आपूर्ति गर्न सक्ने प्रसारण र वितरण संरचनाको गुरु योजना तयार गरी क्रमिकरुपमा कार्यान्वयनमा लगिएको छ ।’’

उनले आन्तरिक रुपमा विद्युत्को खपत बढाउने, उत्पादन वृद्धि गरी आयात घटाउने र निर्यात वृद्धि गर्ने गरी काम भइरहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 August 2024
Website | + posts