आज घोडे जात्रा अर्थात घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने परम्परा

आज घोडे जात्रा अर्थात घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने परम्परा : Icon Khabar

काठमाडौँ, चैत २६ । आज घोडे जात्रा। घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् ।

घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।

यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् ।

यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहाँचरेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडे जात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किंवदन्ती प्रस्तुत गरौँ ।

काठमाडौंवासीहरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउनु पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ….. परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो ।

यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती छ ।

अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।

Published Date: 08 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता