आज महाशिवरात्रि: पशुपतिनाथ मन्दिर परिसरमा चार हजार ४९ प्रहरी परिचालन

आज महाशिवरात्रि: पशुपतिनाथ मन्दिर परिसरमा चार हजार ४९ प्रहरी परिचालन : Icon Khabar

काठमाडौँ, फागुन २५ । महाशिवरात्रि पर्वको अवसरमा काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरको सुरक्षाका लागि चार हजार ४९ प्रहरी परिचालन गरिने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले महाशिवरात्रिलाई लक्षित सुरक्षा योजना तयार गरी दर्शनार्थीको शान्ति सुरक्षा तथा सवारी व्यवस्थापनका लागि विशेष कमान्ड पोस्ट स्थापना गरी प्रहरी र सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले महाशिवरात्रि पर्वमा स्वदेशी तथा विदेशी भक्तजनको अत्यधिक भिड हुने भएकाले सवारी व्यवस्थापनका लागि ५८३ ट्राफिक प्रहरीसहित चार हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए । सुरक्षा योजनामा ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन र जिल्ला प्रहरी परिसर, काठमाडौँबाट प्रहरी परिचालन हुने छ । प्रवक्ता मैनालीले पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्था प्रभावकारी बनाई सो क्षेत्रमा हुने सवारी व्यवस्थापनसमेत सहज बनाइन आवश्यक तयारी भएको जानकारी दिए।

सुरक्षा योजनाको नेतृत्व प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले गर्नुहुने छ । सुरक्षार्थ खटिने प्रहरीलाई कर्डन, पिकेट, मोबाइल गस्ती, पैदल गस्ती, स्टाइकिङ, ड्रोन, सिसिटिभी क्यामरा, बडी वर्न क्यामरालगायतका प्रविधिबाट दर्शनार्थीको निगरानी गरिने बताइएको छ । भइपरी आउन सक्ने अवस्थाको मूल्याङ्कन गरी प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स, तालिम प्राप्‍त उद्धारकर्मी तथा रिजर्भ फोर्ससमेतलाई तयारी अवस्थामा राखिने छ । आवश्यक परेमा अन्य सुरक्षा अङ्गबाट पनि सहयोग लिने गरी उपत्यका प्रहरीले समन्वय गरिसकेको जनाएको छ । मेलाको समयमा शान्ति सुरक्षाका लागि ९३५ महिला प्रहरी, ४३९ सादा पोसकका प्रहरी परिचालन गरिने छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आवश्यक सुरक्षाका लागि थप तीन हजार ५११ प्रहरी खटाएको प्रवक्ता मैनालीले जानकारी दिए। मेला सुरु भएदेखि समाप्‍त नभएसम्मका सबै गतिविधिको सूक्ष्म निगरानीका लागि कमान्ड पोस्‍टमार्फत सादा पोसाकका प्रहरीका साथै ड्रोन र रिजर्भ फोर्सबाट सूक्ष्म निगरानी गरिने प्रहरीले जनाएको छ । प्रहरीले मेलामा सहभागी हुने दर्शनार्थीलाई अपरिचित व्यक्तिले दिएका खानेकुरा नखान, नगद तथा बहुमूल्य सामान र गहना सकभर प्रयोग नगर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2024
Website | + posts