काठमाडौँ महानगरपालिकामा रहेका ११८ औषधि पसल मापदण्ड विपरीत संचालनमा

काठमाडौँ महानगरपालिकामा रहेका ११८ औषधि पसल मापदण्ड विपरीत संचालनमा : Icon Khabar

काठमाडौँ, फागुन १८ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ ।

कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ ।

वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइएको थियो । यसरी भेटाएका तीन प्याकेट (३० वटा) एन्टिरेबिज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए।

अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले त्यस्ता औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनीता डङ्गोलले बताए । “औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले यो चरम गल्ती हो”, उनले भने, “यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।”

औषधि पसल दर्ता गर्दा एउटाको नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि भेटिएको डङ्गोलले जानकारी दिए । उनका अनुसार केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको छ ।

कामपाले गत मङ्सिरमा आफ्नो क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो ।

उक्त अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को दफा ५३ अनुसार कारबाही गरिने जनाइएको छ । औषधि पसल सञ्चालन हुनका लागि कामपामा अनुमति लिनुपर्ने हुन्छ । फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपाउने कानुनी मान्यता छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा छन् ।

औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याइने कामपाको भनाइ छ । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2024
Website | + posts