नामिबियामाथि नेपालको रोमाञ्चक जित

नामिबियामाथि नेपालको रोमाञ्चक जित : Icon Khabar

काठमाडौँ, फागुन १८ ।  त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन जोड्न सक्यो ।

यस जितसँगै नेपालले २ अंक जोडेको छ । नामिबियाको पनि समान २ अंक छ । नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोड्दै शीर्षस्थानमा छ । अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स खेल्नेछन् । फाइनल मंगलबार हुनेछ ।

नामिबियाले कमजोर सुरुवात गरेपनि मध्यक्रममा कप्तान स्मिट र फ्रिलिंकको साझेदारीसँगै खेलमा फर्केको थियो । तर दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले १६ औं र १७ औं ओभरमा दुवैलाई आउट गर्दै कसिलो बलिङ गरेपछि नेपाल खेलमा फर्कियो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो । औसत सुरुवात गरेपनि मध्यक्रममा आरिफ शेख र कुशल मल्लले राम्रो साझेदारी गर्दै बलियो योगफलतर्फ पुर्याए ।

कुशलले ३६ बलमा १ चौका र ४ छक्कासहित नटआउट ५४ रनको योगदान दिए । आक्रामक सुरुवात गरेका उनको डेथ ओभरमा भने ठूलो सट खेल्ने प्रयास सफल हुन सकेन ।

ओपनर आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने । उनले २ बलमा १ रन जोडे । कप्तान रोहित ९ बलमा १० रन जोड्दै चौथो ओभरको चौथो बलमा क्याच आउट भए ।

ओपनर अनिल शाह सातौं ओभरको अन्तिम बलमा कट बिहाइन्ड भए । उनले १७ बलमा ३ छक्कासहित २३ रन बनाए । त्यसको २ बलपछि गुलशन झा पनि आउट भए । १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोडेका उनी बर्नार्ड स्कोल्जको एलबीडब्लु धरापमा परे ।

पाँचौ विकेटका लागि आरिफ र कुशलले ८५ रनको साझेदारी गर्दै नेपाललाई बलियो योगफलतर्फ लम्काए । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए । १७ औं ओभरमा ब्रेसलविरुद्ध ठूलो सट खेल्ने धुनमा उनी डिप मिड विकेट बाउन्ड्रीमा फ्रिलिंकको हातबाट समातिए ।

दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै शिकोंगोको एलबीडब्लु धरापमा परे । करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 March 2024
Website | + posts