नारायणगढ–मुग्लिन सडकखण्डमा भित्तो काट्ने काम अन्तिम चरणमा

नारायणगढ–मुग्लिन सडकखण्डमा भित्तो काट्ने काम अन्तिम चरणमा : Icon Khabar
फाईल फोटो

चितवन, माघ १४ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारी साधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो ।सवारी साधन दैनिक ४ घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी साधन रोकेर काम गरिँदै आइएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इ. कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ ।उनका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । उनले भने, “भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो ।”

पहिलो पटक ३ साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको ३ साता यही माघ २० गते सकिँदैछ ।दोस्रो पटक म्याद थपेपछि ४ दिन काम गर्न नपाएको भन्दै उनले थोरै दिनमात्रै थप गर्नुपर्ने हुन सक्ने बताए ।

उनको भनाइमा माघभित्रमा भित्तो काट्ने सबै काम सकिन्छ । पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारी साधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारी साधन रोक्न नपर्ने उनले बताए। काम प्रभावकारी हुँदै गएको भन्दै उनले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताए ।

आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उनका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।सो सडकका १९ पुलमध्ये ४ पुल ४ वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो ।

विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत १ अर्ब २८ करोड रुपैयाँ छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म ८ पुल सञ्चालनमा आइसकेका छन् । जुगेडी–खहरी र सिमलतालका ३ पुल १ महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिए । उनका अनुसार काली र नाम्चे खोलाको पुल थप ३ महिनामा सञ्चालनमा आउने छन् । मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उनले बताए ।

अहिले भित्तो काट्दै गरेको ३ नं पुल जग खनेको छ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताए । यो राजमार्गलाई एसियाली विकास बैंक (एडीबी) को सहयोगमा एसियन मापदण्ड अनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ ।

राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । – रासस

Published Date: 28 January 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी