नारायणगढ–मुग्लिन सडकखण्डमा भित्तो काट्ने काम अन्तिम चरणमा

नारायणगढ–मुग्लिन सडकखण्डमा भित्तो काट्ने काम अन्तिम चरणमा : Icon Khabar
फाईल फोटो

चितवन, माघ १४ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारी साधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो ।सवारी साधन दैनिक ४ घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारी साधन रोकेर काम गरिँदै आइएको छ ।

नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इ. कृष्ण आचार्यका अनुसार ६० मिटर अग्लो भित्तोको एकातर्फको भाग ११ मिटर र अर्कोतर्फ १४ मिटर तल झरेको छ ।उनका अनुसार मुग्लिनतर्फ १४ मिटर बाँकी छ भने खोलातर्फ ११ मिटर बाँकी छ । उनले भने, “भित्तो काट्ने काम झन्डै ८० प्रतिशत सम्पन्न भयो ।”

पहिलो पटक ३ साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको ३ साता यही माघ २० गते सकिँदैछ ।दोस्रो पटक म्याद थपेपछि ४ दिन काम गर्न नपाएको भन्दै उनले थोरै दिनमात्रै थप गर्नुपर्ने हुन सक्ने बताए ।

उनको भनाइमा माघभित्रमा भित्तो काट्ने सबै काम सकिन्छ । पहाडको भाग अरु तल झरेपछि जाली लगाएर भित्तो काट्दा सवारी साधन रोक्नु पर्दैन । आक्कलझुक्कल थोरै समय रोकेर काम गर्नुपर्ने अवस्था आए पनि यसरी सवारी साधन रोक्न नपर्ने उनले बताए। काम प्रभावकारी हुँदै गएको भन्दै उनले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताए ।

आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उनका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।सो सडकका १९ पुलमध्ये ४ पुल ४ वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो ।

विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत १ अर्ब २८ करोड रुपैयाँ छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म ८ पुल सञ्चालनमा आइसकेका छन् । जुगेडी–खहरी र सिमलतालका ३ पुल १ महिनाभित्रमा सञ्चालनमा आउने आचार्यले जानकारी दिए । उनका अनुसार काली र नाम्चे खोलाको पुल थप ३ महिनामा सञ्चालनमा आउने छन् । मुग्लिन नजिकको १ नम्बर पुल असारसम्ममा सञ्चालनमा आउने उनले बताए ।

अहिले भित्तो काट्दै गरेको ३ नं पुल जग खनेको छ महिनाभित्रमा सम्पन्न गर्नेगरी काम गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको आचार्यले बताए । यो राजमार्गलाई एसियाली विकास बैंक (एडीबी) को सहयोगमा एसियन मापदण्ड अनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ ।

राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला