भक्तपुरमा मनाइयो २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस

भक्तपुरमा मनाइयो २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस : Icon Khabar

भक्तपुर, मंसिर १९ । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको संयुक्त प्रयास’ नाराका साथ भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०८० मंगलबार एक कार्यक्रमबीच सम्पन्न भयो ।

उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको अथक मेहनत र सेवाभावकै कारण आज भक्तपुरको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा राम्रो हुँदै गएको बताए। उनले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल जनताले अपनत्व ग्रहण गरेको अस्पतालको रुपमा विकास भइरहेको बताए ।

सरकारले स्वास्थ्यलाई व्यवसायीकरण गर्ने नीति लिइरहेकोप्रति खेद प्रकट गर्दै प्रमुख प्रजापतिले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउन सबै अस्पतालहरुमा स्वास्थ्य बिमाको व्यवस्था हुनु जरुरी रहेको बताए।

त्यस्तै वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाले नगरका विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र बिस्तार गर्ने काम गर्दै आएको बताउँदै स्वास्थ्य स्वयम्सेविकाहरुले नसर्ने रोगबारे जनतालाई प्रष्ट गर्न जरुरी रहेको बताए।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले स्वास्थ्य स्वयम्सेविकाहरुले जनप्रतिनिधि र जनताबीच समन्वयकारी भूमिका खेल्दै नगर विकासमा सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको बताए।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले महिला स्वास्थ्य स्वयम्सेविकाहरु स्वास्थ्य क्षेत्रका मेरुदण्ड र प्रेरणा स्रोत भएको बताउँदै उहाँहरुको मेहेनतले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए।

कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, जिल्ला जनस्वास्थ्य भक्तपुरका प्रतिनिधि शान्तिराम खतिवडा र महिला स्वास्थ्य स्वयम्सेविका तारादेवी धन्छाले पनि बोलेका थिए।

२० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा उत्कृष्ट ३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगद पुरस्कारसहित प्रशंसा–पत्र वितरण गरिएको थियो।

आज सम्मानित हुनेमा स्वास्थ्यस्वयम् सेविका भक्तपुर नपा वडा नं. ७ का लक्ष्मीकेशरी तुईतुई, भनपा वडा नं. ५ का सजना सुवाल, भनपा वडा नं. २ का बबीमैंया लघु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 December 2023
Website | + posts