मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला : Icon Khabar

काठमाडौँ, मंसिर ८ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा आज अर्थात मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि मंसिर २२ गतेसम्म लम्बिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

मुक्तिनाथ कृषि कम्पनी, कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक गुणस्तरीय उत्पादनका साधनहरु जस्तै मल, बिउ, विषादी, औजार उपकरण सहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको साथै कृषि सुनिश्चितता गरी राष्ट्रिय र अन्तरराष्ट्रिय बजारीकरण सम्बन्धी क्रियाकलापहरु गरिरहेको कम्पनीको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2023
Website | + posts