राष्ट्रपतिको युरोप भ्रमण स्थगित, प्राकृतिक विपत्तिमा मुलुक छोड्न उपयुक्त नहुने निष्कर्ष

राष्ट्रपतिको युरोप भ्रमण स्थगित, प्राकृतिक विपत्तिमा मुलुक छोड्न उपयुक्त नहुने निष्कर्ष : Icon Khabar

काठमाडौं, कात्तिक २० । राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ती मुलुकका भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठुलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिए।

नेपाल सरकारको पेरिस–सम्झौता २०१५, जसले एक दशमलव पाँच डिग्री सेल्सियस भित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्बन उत्सर्जनको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रममा भाग लिन जाने कार्यक्रम तय भएको थियो ।

बिग्रँदो पर्यावरणलाई कसरी अनुकूल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्बन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेको सम्बन्धमा विश्वजगतको ध्यानाकर्षण गराउने कार्यक्रम थियो ।

त्यस्तै, युरोपेली युनियनका महत्त्वपूर्ण राष्ट्रहरू फ्रान्स, जर्मनी र इटलीबाट राष्ट्रपति पौडेललाई आएको निमन्त्रणासँगै ती मुलुकका राष्ट्रपतिसँग तीन दशकपछि उच्चस्तरको पहिलोपटक महत्त्वपूर्ण भेटवार्ताको कार्यक्रम थियो ।

राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिनुभयो ।

Published Date: 06 November 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी