राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादासम्बन्धी विधेयक

राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादासम्बन्धी विधेयक : Icon Khabar

काठमाडौं, कात्तिक १४ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यो राष्ट्रिय सभामा रहेका सबै दलका सांसदहरुले संयुक्त रुपमा दर्ता गरेको गैरसरकारी विधेयक हो । राष्ट्र गानको प्रयोग, राष्ट्रपति, प्रधानमन्त्रीदेखि स्थानीय तहका वडा अध्यक्षसम्मको मर्यादाक्रम निर्धारण, शोक तथा सम्मानमा दिने सलामी, राष्ट्रिय झण्डाको प्रयोग लगायतका विषय समेटेर राष्ट्रिय सभाका सांसदहरूले गैरसरकारी विधेयक ल्याएका थिए।

यसअघि विधेयक ल्याउँदा सांसदहरूले सभामुख र राष्ट्रिय सभा अध्यक्षपछि प्रधानन्यायाधीशको मर्यादाक्रम राखेका थिए। तर राष्ट्रिय सभाले संविधानको धारा २९३ मा भएको संवैधानिक परिषद्को व्यवस्था अनुसार प्रधानन्यायाधीशको मर्यादाक्रम माथि राखेका छन्। अबको मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष हुनेछन्। सभामुख र राष्ट्रिय सभाका अध्यक्षको एउटै मर्यदाक्रम हुनेछ। तर दुबै सहभागी हुने कार्यक्रममा सभामुखको मर्यादा अघि र राष्ट्रिय सभाका अध्यक्षको लगत्तै हुनेछ।

त्यसपछि पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायधीशको मर्यादाक्रम निर्धारण गरिएको छ। लगत्तै पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम कायम गरिएको छ।

महानगरपालिकाका मेयरहरूको मर्यादाक्रम भने १७ औं स्थानमा पुगेको छ।

राष्ट्रिय सभाबाट पारित विधेयक अब प्रतिनिधि सभामा जानेछ । प्रतिनिधिसभा नियमावली र संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावलीका अनुसार प्रतिनिधि सभाका कुनै सदस्यले यो विधेयकलाई अगाडि बढाउनुपर्ने हुन्छ । प्रतिनिधि सभाले पनि स्वीकार गरेर अगाडि बढाएको खण्डमा यसले कानुनको रुप लिन्छ ।

हाल सरकारले राष्ट्रिय मर्यादा तय गरेर राजपत्रमा प्रकाशन गर्ने गर्दछ । प्रस्तावित विधेयकले कानुनको रुप लिए मर्यादाको विषय कानुनमै व्यवस्थित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 October 2023
Website | + posts