नेपालले उपाधिको लागि आज युएईसँग खेल्दै

नेपालले उपाधिको लागि आज युएईसँग खेल्दै : Icon Khabar

काठमाडौं, कात्तिक १० । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो ।

नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो । उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो । दुबै टोलीको समान २ अंक थियो । उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ । युएई नेपाललाई फाइनलमा हराउने सोचमा हुनेछ ।

नेपालले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ । अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई खेलाउने सम्भावना छ । ललितको युएईविरुद्ध पछिल्लो समय प्रदर्शन राम्रो छ । सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनर हुन् ।

युएईले दुई परिवर्तन गर्नसक्छ । यदि यू–१९ प्रिमियर कप खेलेर आयन खान र ओपनर अर्यांश शर्मा नेपाल आइपुगेको भए उनीहरु आजको खेलमा खेल्न सक्छन् । आयन प्रमुख स्पिनर हुन् । शर्मा ओपनर ब्याटर हुन् । यी दुबैले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

युएईका वृत्य अरविन्द, मोहम्मद वासिम र आसिफ खान प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके नेपालले सहज जित हात पार्नसक्छ । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको पावर प्लेमा बलिङ प्रदर्शन महत्वपूर्ण हुनेछ ।

दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पछिल्लो खेलमा दीपेन्द्रले १५ बलमा ४० रन बनाउँदै नेपालको जित पक्का गराएका थिए । कुशल मल्ल पनि घातक बन्नसक्ने खेलाडी हुन् । तर यस सिरिजमा चार मध्य दुई खेलमा उनी रन आउट भएका छन् । कुशलले साझेदारीमा तालमेल गर्न आवश्यक छ ।

कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन् । यसअघि नेपालले दुई खेलमा सोमपाल कामीलाई तेस्रो नम्बरमा खेलाएको थियो । सोमपाल त्यहाँ सफल हुन सकेका छैनन् । यस सिरिजमा ओपनर कुशल भुर्तेल चलेका छैनन् । भुर्तेलबाट नेपाल फाइनलमा उच्च प्रदर्शन चाहन्छ । नेपालको ब्याटिङमा गहिराई छ । त्यसैको कारण खराब सुरुवातबाट राम्रो पूनरागमन गर्न सक्छ ।

विश्वकप छनोट अघि नेपाल उपाधिका साथ मोमेन्ट लैजान चाहन्छ । युएईका तीव्र गतिका बलर मोहम्मद जवादुल्लाह र जहुर खानबाट भने बच्न आवश्यक छ । नेपाल र युएईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गत वैशाखपछि टियुमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुँदैछ । पिच प्रेस हुँदा बलर तीव्र गतिका बलर हाबी हुनसक्छन् ।

त्यसैले आजको खेलमा टस महत्वपूर्ण हुनसक्छ । टियु ब्याटिङका लागि सहज पनि मानिन्छ । नेपाल घरेलु मैदान,कन्डिसन र दर्शकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 October 2023
Website | + posts