नेपालबाट बाहिरियो मनसुन, आज यी प्रदेशमा हल्का वर्षा

नेपालबाट बाहिरियो मनसुन, आज यी प्रदेशमा हल्का वर्षा : Icon Khabar

काठमाडौं , असोज २९ । यस वर्षको मनसुन गएराति नेपालबाट बाहिरिएको छ। नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको हो।

गत जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ। अहिले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, आज राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

Published Date: 16 October 2023