भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकालाई दिदा बिरामीले सहज सेवा पाउँछन्: सांसद प्रेम सुवाल

भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन भक्तपुर नगरपालिकालाई दिदा बिरामीले सहज सेवा पाउँछन्: सांसद प्रेम सुवाल : Icon Khabar

काठमाडौँ, भदौ २९ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसित सिंहदरबारमा भेट गरेका थिए।

भेटघाटमा सांसद सुवालले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन नेपाल अर्बुद रोग निवारण संस्थालाई हस्तान्तरण नगर्न नगराउन प्रम दाहालको ध्यानाकर्षण गराए।

नेपाल अर्बुद रोग निवारण संस्थाको पछिल्लो व्यवस्थापन समिति भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न असफल भएको र अस्पतालका सहयोगीहरू नियुक्तिसमेत व्यवस्थापन समितिका सदस्यहरू संलग्न संस्थाबाट गराई आर्थिक अनुशासन उल्लङ्घनमा लागेको उल्लेख गर्दै सांसद सुवालले भ्रष्टाचार र अनियमितताविरुद्ध स्थानीय जनता र अस्पतालका कर्मचारीहरूको संयुक्त आन्दोलनसमेत भएको प्रम दाहाललाई स्मरण गराए।

स्थानीय जनता र अस्पतालका कर्मचारीहरूले आर्थिक अनियमितताको विरोधमा सङ्घर्ष गरेपछि तत्पश्चात् तत्कालीन सरकारले भक्तपुर क्यान्सर अस्पताल आफ्नो मातहतमा लिएर सञ्चालन गरेको हो ।

स्वास्थ्य मन्त्रालयले नेपाल अर्बुद रोग निवारण संस्थालाई नै अस्पताल व्यवस्थापन समितिको नेतृत्व दिने, भदौ ३१ गते नेपाल अर्बुद रोग निवारण संस्थाको कार्यक्रममा स्वास्थ्य मन्त्रीलाई अस्पताल हस्तान्तरणको घोषणा गराउने, मन्त्रिपरिषद्को सट्टा स्वास्थ्य मन्त्रीबाटै निर्णय हुने अस्पतालको विधान तयार गर्नेलगायत विषय बाहिरिएपछि सांसद सुवालले प्रम दाहाललाई भेटेर त्यसो भएमा क्यान्सर अस्पतालमा बिरामीको अकाल मृत्यु र भ्रष्टाचार बढ्नेतर्फ प्रमको ध्यानाकर्षण गराए।

सांसद सुवालले भक्तपुर नगरपालिकाको नेतृत्वमा व्यवस्थापन समिति गठन भए बिरामीको सहज सेवा हुनेतर्फ पनि प्रमको ध्यानाकर्षण गराए।

प्रम दाहालले आफ्ना सहयोगीलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सम्पर्क गराउँदा फोन रिसिभ भएन । प्रम दाहालले भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन नेपाल अर्बुद रोग निवारण संस्थालाई हस्तान्तरण नगर्न नगराउन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिने बताए।

सांसद सुवालले स्वास्थ्य सचिव रोशन पोखरेललाई पनि फोनमा सम्पर्क गरी भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन नेपाल अर्बुद रोग निवारण संस्थालाई हस्तान्तरण गरिए उपचार व्यवस्थित नभई बिरामीको अकाल मृत्यु हुनेतर्फ सचेत गराएक थिए भने स्वास्थ्यमन्त्री बस्नेतको मोबाइलमा सम्पर्क गर्दा रिसिभ भएको थिएन ।

डाक्टर अन्जनीकुमार शर्मा र बेलायत बस्नुहुने डाक्टर विवेकबहादुर प्रधानसमेतले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छेँसँग पटकपटक छलफल गरी भक्तपुर क्यान्सर अस्पताल स्थापना र सञ्चालन गरिएको थियो । सो अस्पताल स्थापना गर्न भक्तपुर नगरपालिकाले पनि केही रोपनी सार्वजनिक जग्गा उपलब्ध गराएको थियो भने स्थानीय जनताले पनि आर्थिक सहयोग गरेका थिए ।

चिनियाँ राजदूतले केही दिनअगाडि काठमाडौँको एक कार्यक्रममा नेपालको आर्थिक विकासबारे दिनुभएको सुझावलाई अनर्थ लगाइएको प्रसङ्ग उठाउँदै सांसद सुवालले प्रमको ध्यानाकर्षण गराए । प्रम दाहालले त्यसरी अनर्थको रूपमा विषय उठाउनुनपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 September 2023
Website | + posts