लिबियामा बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु, हजारौं व्यक्ति बेपत्ता

लिबियामा बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु, हजारौं व्यक्ति बेपत्ता : Icon Khabar

लिबिया, भदौ २७ । लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ‘ड्यानियल’ नामको आँधीपछि आएको बाढीमा परी हजारौं व्यक्ति बेपत्ता भएका छन् ।

बाढीले समुद्री तटको डेर्ना सहर सबैभन्दा धेरै प्रभावित भएको छ । सोमबार आएको आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो, जसका कारण लाखौं क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो ।

अमेरिकी सञ्चार माध्यम सीएनएनले लिबियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै ५ हजारभन्दा बढी व्यक्तिको बाढीमा परी मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा इजिप्टका १४५ नागरिकसमेत रहेको सीएनएनको समाचारमा उल्लेख छ । यस्तै रेडक्रस लिबियाका प्रमुख तामेर रमादानले १० हजारभन्दा बढी व्यक्ति बेपत्ता भएको समाचार संस्था अलजजिरालाई बताएका छन् । २० हजारभन्दा बढी व्यक्ति विस्थापित भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको सन् २०११ मा हत्या गरिएपछि सन् २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । बेंघाजी पूर्वी लिबियाको प्रशासनिक केन्द्र हो । यहाँका स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादसहित सुरक्षा बलका अधिकारीले घटनाबाट एक हजारभन्दा बढीको मृत्यु भएको र हजारौं व्यक्ति हराएको बताएका छन् ।

बेंघाजीस्थित सरकारका नागरिक उड्डयनमन्त्री हिचेम स्किओतले डेर्ना सहरको निरीक्षणपछि मंगलबार समाचार संस्था रोयटर्सलाई शवहरू सबैतिर देखिएको बताएका छन् । ‘समुद्री किनारा, उपत्यका र भवनभित्र शव छरिएको देखिएको छ, सहरको एक चौथाइ भाग बाढीमा डुबेको छ,’ उनले भने । उक्त सहरमा मात्र १ हजार ५ सयभन्दा बढीको मृत्यु भएको उनले बताए । डेर्नामा करिब १ लाखको बसोबास रहेको अनुमान छ ।

बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरूको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

पश्चिम लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका प्रधानमन्त्री अब्दुल हामिदले राजधानी त्रिपोलीबाट १४ टन खाद्यान्न तथा मेडिकल सामग्री बेंघाजीतर्फ बताइएको छ । यद्यपि, मौसमी चुनौती कारण उक्त सहरमा राहत पुर्‍याउन कठिनाइ भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । दुवै सरकारले पूर्वी क्षेत्रलाई प्राकृतिक विपद् संकटग्रस्त घोषणा गर्दै सहायताको प्रक्रिया सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 September 2023
Website | + posts