लिबियामा बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु, हजारौं व्यक्ति बेपत्ता

लिबियामा बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु, हजारौं व्यक्ति बेपत्ता : Icon Khabar

लिबिया, भदौ २७ । लिबियाको पूर्वी क्षेत्रमा आँधीपछि आएको बाढीबाट ५ हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ‘ड्यानियल’ नामको आँधीपछि आएको बाढीमा परी हजारौं व्यक्ति बेपत्ता भएका छन् ।

बाढीले समुद्री तटको डेर्ना सहर सबैभन्दा धेरै प्रभावित भएको छ । सोमबार आएको आँधीले वादी डेर्ना नदीमा बनाइएको दुई वटा बाँध र चार वटा पुल भत्काएको थियो, जसका कारण लाखौं क्युबिक मिटर पानी डेर्ना सहरमा पसेको हो ।

अमेरिकी सञ्चार माध्यम सीएनएनले लिबियाको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै ५ हजारभन्दा बढी व्यक्तिको बाढीमा परी मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा इजिप्टका १४५ नागरिकसमेत रहेको सीएनएनको समाचारमा उल्लेख छ । यस्तै रेडक्रस लिबियाका प्रमुख तामेर रमादानले १० हजारभन्दा बढी व्यक्ति बेपत्ता भएको समाचार संस्था अलजजिरालाई बताएका छन् । २० हजारभन्दा बढी व्यक्ति विस्थापित भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको सन् २०११ मा हत्या गरिएपछि सन् २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । बेंघाजी पूर्वी लिबियाको प्रशासनिक केन्द्र हो । यहाँका स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादसहित सुरक्षा बलका अधिकारीले घटनाबाट एक हजारभन्दा बढीको मृत्यु भएको र हजारौं व्यक्ति हराएको बताएका छन् ।

बेंघाजीस्थित सरकारका नागरिक उड्डयनमन्त्री हिचेम स्किओतले डेर्ना सहरको निरीक्षणपछि मंगलबार समाचार संस्था रोयटर्सलाई शवहरू सबैतिर देखिएको बताएका छन् । ‘समुद्री किनारा, उपत्यका र भवनभित्र शव छरिएको देखिएको छ, सहरको एक चौथाइ भाग बाढीमा डुबेको छ,’ उनले भने । उक्त सहरमा मात्र १ हजार ५ सयभन्दा बढीको मृत्यु भएको उनले बताए । डेर्नामा करिब १ लाखको बसोबास रहेको अनुमान छ ।

बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरूको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

पश्चिम लिबियाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका प्रधानमन्त्री अब्दुल हामिदले राजधानी त्रिपोलीबाट १४ टन खाद्यान्न तथा मेडिकल सामग्री बेंघाजीतर्फ बताइएको छ । यद्यपि, मौसमी चुनौती कारण उक्त सहरमा राहत पुर्‍याउन कठिनाइ भइरहेको सञ्चारमाध्यमले जनाएका छन् । दुवै सरकारले पूर्वी क्षेत्रलाई प्राकृतिक विपद् संकटग्रस्त घोषणा गर्दै सहायताको प्रक्रिया सुरु गरेका छन् ।

Published Date: 13 September 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता