बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ

बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ : Icon Khabar

हेटौँडा, भदौ ६ । यो वर्षको साउन महिना सकिँदा बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यो वर्ष यस प्रदेशमा वर्षे धानबाली हुने क्षेत्रफल भने घटेको छ ।

गत प्रदेशमा वर्षे धानबाली हुने कुल क्षेत्रफल एक लाख २० हजार ५६९ हेक्टर रहेकोमा यो वर्ष एक लाख १३ हजार ५२३ हेक्टर क्षेत्रफलमा वर्षे धानबाली खेती हुने बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।

यस प्रदेशमा यो वर्ष हालसम्ममा वर्षे धानले ढाकेको कुल क्षेत्रफल मध्ये एक लाख पाँच हजार ९६४ हेक्टर क्षेत्रफल अर्थात ९३.३४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले हालसम्म ललितपुर, भक्तपुर र काठमाडौँमा वर्षे धान खेतीले ढाकेको सबै क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको जानकारी दिए । रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ९० भन्दा कम प्रतिशत भागमा रोपाइँ भएको छ भने बाँकी जिल्लामा ९० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको उहाँले जानकारी दिए।

काभ्रेपलाञ्चोकमा १० हजार १०८ हेक्टर, रामेछापमा सात हजार ८५९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ । यस्तै ललितपुरमा चार हजार २११ हेक्टर, भक्तपुरमा तीन हजार ९७९ हेक्टर र काठमाडौँमा छ हजार १५ हेक्टरमा वर्षे धान हुने गरेको छ ।

प्रदेशको असारे धान रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमा हुने गरेकोमा एक हेक्टरमा साउन महिना सकिँदा रोपाइँ हुन बाँकी छ । उनका अनुसार पहाडी जिल्लाहरुमा गाईवस्तुमा लम्पी स्किन रोगको प्रकोपका कारण पनि धान रोपाइँमा ढिलाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 August 2023
Website | + posts