हरेक वर्षको साउन भदौमा उपत्यकाले जहिल्यै सम्झने “सिलु” गीत

हरेक वर्षको साउन भदौमा उपत्यकाले जहिल्यै सम्झने “सिलु” गीत : Icon Khabar

काठमाडौँ, साउन २८ । नेपालमा आदिवासी जनजातिको भाषामा बनेको पहिलो फिल्म हो सिलु। विसं २०४५ सालमा नेपाल भाषाको फिल्म ‘सिलु’ बनेको हो। सिलु अर्थात अहिले रसुवा जिल्लामा अवस्थित पवित्र तिर्थस्थल गोसाइकुण्ड।

प्रत्यक वर्षको साउन भदौ महिनाताका जनै पूर्णिमालाई लक्षित गरेर उपत्यका लगायत देशका विभिन्न ठाउँबाट तीर्थयात्रीहरु सिलु जाने गर्दछन्। जनै पूर्णिमाको दिन उक्त विशाल कुण्डमा विशेष मेला लाग्ने गर्दछ। नेपाल भाषाकै प्रथम चलचित्र “सिलु” प्रख्यात लोकगीत सिलुमा आधारित रहेर बनाइएको चलचित्र हो।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, जय श्रेष्ठ, नविना श्रेष्ठ, गोपाल भुटानी लगायतका कलाकारहरुद्वारा अभिनित यस चलचित्र अझै पनि उपत्यकाका नेवा: समुदायमा लोकप्रिय छ। यस चलचित्रमा समाबेश शिर्षगीत र अन्य गीतहरुले दर्शक श्रोतालाई थप आकर्षित गरेकोमा कुनै दुईमत नहोला।

यस चलचित्रमा रहेको शिर्षगीत हाय हा हाय प्रभु स्वामि गायक जुजुकाजी रंजित र गायिका रचना जिसीले गाएका थिए। वि सं २०४२ सालमा काठमाडौँको म्युजिक नेपालको एउटा सानो स्टुडियोमा रेकर्ड भएको कुरा वरिष्ठ गायक जुजुकाजी रंजित सम्झन्छन्। त्यतिबेला उक्त गीत रेकर्ड गर्दा सो स्टुडियोमा भेण्टिलेशन नभएको र पसिनाले निथ्रुक्कै भिज्ने गरि गीत गाउनुपरेको पनि सम्झे। ऐतिहासिक यस गीतका संगीतकार र रचनाकारको हुन् भन्ने बारे आफु पनि अवगत नभएको पनि उनले बताए।

सोहि गीतको लोकप्रियता आजसम्म पनि जनमानसमा छ भनेर हिजो शनिबार आइकन खबरले संवादको क्रममा गायक रंजितलाई जिज्ञासा राख्दा सो गीत र चलचित्र नेवा समुदायको एउटा सम्पत्ति हो र सबैले यसको माया गर्नुपर्छ भनेर अनुरोध गरेका थिए। उनले आफु सानो छँदादेखि काठमाडौँ उपत्यकामा यो गीत लोकप्रिय भएको र अझ आफ्नो आमा बुवानै सानो हुँदा देखिको गीत भएको कारण यस गीत एउटा इतिहास भएको बताए।

रंजितले नै यस चलचित्रका लागि गाएका अरू गीतहरु जस्तै निम्हा तिपू सिलु वना, अबिरया होलि, बाला मेयजु बाला पनि आजसम्म प्रख्यात रहेको छ। त्यतिबेला दशरथ रंगशालामा भएको अल नेपाल गायन प्रतियोगितामा आफु पनि पुरस्कृत भएको र सो कारणले नै आफुले आदिवासी जनजातिको भाषामा बनेको पहिलो फिल्म सिलुमा गीत गाउन पाएकोमा निकै खुशी भएको स्मरण पनि गरे।

गायक जुजुकाजी रञ्जितको परिचय

वरिष्ठ गायक जुजुकाजी रञ्जितको जन्म वि सं २०१२ साल असोज १६ गतेका दिन काठमाडौँमा भएको हो। उनले आफ्नो सांगीतिक यात्राको औपचारिक सुरुवात वि सं २०२२ सालबाट गरेका हुन्। सोहि सालमा रेडियो नेपाल मार्फत स्वर परिक्षा पास गरेका थिए। उनले वि सं २०५१ सालमा भारतको इलाहवाद मार्फत शास्त्रीय गायनमा स्नातक अर्थात संगीत प्रभाकरको अध्ययन पनि गरेका थिए।

नेपाली चलचित्रको पार्श्व गायनमा, नेपाली आधुनिक गीत संगीतमा अनि मुख्यत: नेपाल भाषाको गीत संगीतमा उनले प्रशंसनीय योगदान गर्दै आएका छन्। गायन बाहेक उनको विशेषज्ञता मेकानिकल इञ्जिनियेरिङ्गमा पनि रहेको छ। वि सं २०३८ सालमा तत्कालिन सोभियत संघ अन्तर्गत रुसको भोल्गा गाड पोलिटेक्निक इन्स्टिट्युट स्टेट युनिभर्सिटि मार्फत मेकानिकल इञ्जिनियेरिङ्गमा स्नातकोतर तहको अध्ययन पूरा गरेका थिए ।

नेपाल भाषाको पहिलो चलचित्र सिलु (सन् १९८६) संगै नेपाली चलचित्र भुमरी , रक्षा, सुन्दरी साथै मैथिली अनि भोजपुरी भाषाका गीतहरु पनि उनले गाएका छन्। जिन्दगीको अन्तरालमा गायक रञ्जित विभिन्न पदक, सम्मानबाट विभूषित हुदै आएका छन्।

वि सं २०३९ सालमा मेकानिकल इन्जिनियरका रुपमा नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरे। साथै नेपालका विभिन्न विद्युत परियोजनाहरुमा निर्देशक पनि भए । त्यतिबेलाको मध्यमाञ्चल क्षेत्रीय निर्देशक तथा मध्य पश्चिमाञ्चलका निर्देशकसम्म भई उनले वि सं २०७० साल असोज १५ गते अनिवार्य अवकाश प्राप्त गरे। जागिरले अवकाश दिए पनि गायक रञ्जितको सांगीतिक यात्रा भने झन् मजबुत भएको छ।

जागिरे जीवन हुँदा आफ्नो व्यस्तताले कति सांगीतिक इक्षाहरु पुरा गर्न नसकेको कुरालाई अहिले सक्रिय रूपले लागिरहेको उनको विभिन्न नयाँ नयाँ गीत संगीत अनि एल्बमले प्रस्ट बोलेकोमा कुनै दुईमत नहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2023
Website | + posts