काठमाडौं, कार्तिक १३। पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशभरको मौसममा अचानक परिवर्तन आएको छ। मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा भारी वर्षा, हिमपात, हुरीबतास तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका अधिकांश भूभागमा बादल लाग्नेछ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने चेतावनीसमेत दिइएको छ।
महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको जोखिम रहेको छ।
आज राति पनि देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात जारी रहने अनुमान छ। केही स्थानमा भारी वर्षा र हिमपातसमेत हुन सक्ने महाशाखाको भनाइ छ।
धानबाली भित्र्याउने काम रोक्न आग्रह
मौसममा आएको अचानक परिवर्तनले कृषि क्षेत्रमा समेत असर पार्न सक्ने देखिएपछि महाशाखाले आज र भोलि पाकेको धानबाली भित्र्याउनेलगायतका कृषि कार्य स्थगित गर्न विशेष अनुरोध गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। मौसममा सुधार नआएसम्म पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले सुझाव दिएको छ।
वर्षासँगै चिसो हावाहुरी चल्दा तापक्रम घट्ने, कमजोर भूभागमा पहिरो खस्ने तथा सडक र हवाई यातायात प्रभावित हुने जोखिमसमेत रहेको छ। यसले सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन सम्बन्धित निकाय तथा आम नागरिकलाई महाशाखाले आग्रह गरेको छ।
Published Date: 30 October 2026