एक वर्षमा १ लाख ६७ हजारभन्दा बढी पर्यटकहरुद्वारा भक्तपुर अवलोकन

एक वर्षमा १ लाख ६७ हजारभन्दा बढी पर्यटकहरुद्वारा भक्तपुर अवलोकन : Icon Khabar

भक्तपुर, साउन २६ । भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । जसले गर्दा भक्तपुर नगरमा पर्यटकहरुको चहलपहल दिन प्रतिदिन बढ्दैछ ।

आर्थिक वर्ष २०७९।८० मा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् । त्यसमध्ये ८६ हजार ३ सय ३४ जना (गैरसार्क) र ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् । सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ ।

आर्थिक वर्ष २०७८।७९ को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा जम्मा ५३ हजार ५६० जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । जसमा आ.व. २०७८/७९ मा गैर सार्क २२ हजार ८७ जना र सार्क राष्ट्र र चीनका ३१ हजार ४७३ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्यांक छ । आ.व. २०७८/७९ मा ४ करोड ८९ लाख भन्दा बढी पर्यटन शुल्क उठेको थियो । जसमा गैरसार्क पर्यटकबाट ३ करोड २७ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट १ करोड ५७ लाख ३६ हजार ५०० रुपैयाँ पर्यटन शुल्क उठेको थियो ।

आ.व.२०७८/७९ को तुलनामा यस आ.व. २०७९/८० मा १ लाख १४ हजार ९२ जना पर्यटकहरुको संख्या वृद्धि भएको हो । जसअन्तर्गत गैरसार्कमा ६४ हजार २४७ जना र सार्क र चीनका ४९ हजार ८४५ जना पर्यटकहरु रहेका छन् । त्यस्तै आ.व.२०७८/७९ को तुलनामा यस आ.व. २०७९÷८० मा रु. १३ करोड ३१ लाख ३६ हजार ४ सयले पर्यटन शुल्कबाट नपाको आय वृद्धि भएको हो ।

भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांक अनुसार आ.व. २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इड्डल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिंगापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकहरुले भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रति पर्यटक ने.रु. १५०० लाई रु. १८०० कायम गरी शुल्क संकलन गर्दै आएको हो । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरुलाई रु. ५००।– शुल्क संकलन गर्दै आएको छ ।

भक्तपुर नपामा हाल दैनिक औसतमा ४/५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । भक्तपुरमा पर्यटकहरूको आगमनसँगै भक्तपुरका व्यवसायीहरु पनि खुशी छन् र भक्तपुरको पर्यटन व्यवसायमा पनि चहलपहल बढेको अवस्था छ ।

भक्तपुर नगरपालिकालेले पर्यटकहरुलाई लक्षित गरी पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सुचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रुपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको सोही केन्द्रका कर्मचारी मुरज दिदियाले बताए ।

हाल भक्तपुर नपाको पर्यटक सूचना तथा सेवा केन्द्रमा ३६ जना कर्मचारीहरु कार्यरत रहेको र भक्तपुर नपाले स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय टुरिष्ट गाईडहरुलाई आवश्यक तालिम दिई व्यवस्थापन गर्दै आइरहेको छ ।

भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ३४ वटा भन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य सम्पन्न गरिसकेको छ भने दर्जनौं सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य चालु छ ।

श्रोत: भक्तपुर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2023
Website | + posts