प्रधानमन्त्री दाहालद्वारा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन छलफल

प्रधानमन्त्री दाहालद्वारा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन छलफल : Icon Khabar

काठमाडौं, साउन २६ । श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा आज बिहान सरोकारवालाको बैठक बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले भोग्नुपरेका समस्या, श्रम बजार व्यवस्थापनलगायतका विषयमा सरोकारवालाहरूले छलफल गरेका थिए ।

उनीहरुबीच वैदेशिक रोजगारी, स्वरोजगार र अनौपचारिक क्षेत्रमा लागेकालाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने विषयमा समेत छलफल भएको थियो । भदौ १६ गते यस सम्बन्धि एक कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ ।

बैठकमा प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले भोग्नुपरेका समस्याबारे अध्ययन गरी दिगो रूपमा समाधान गर्ने उपाय खोजी आगामी बैठकमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

साथै सरकार प्रमुखले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हित र वैदेशिक रोजगारीलाई थप मर्यादित र सुरक्षित बनाउने उपायमा लाग्न निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्य सचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 August 2023
Website | + posts