किन जान्छ आजभोलि काठमाडौँ उपत्यकामा झ्याप झ्याप बत्ती ?

किन जान्छ आजभोलि काठमाडौँ उपत्यकामा झ्याप झ्याप बत्ती ? : Icon Khabar

काठमाडौं, साउन ७ । काठमाडौं उपत्यकामा पछिल्लो समय पटक–पटक विद्युत् जाने समस्या दाेहोरिएको छ । यस कारण उपत्यकावासीले हैरानी खेप्नुपरेको छ ।

विद्युत् प्राधिकरणले केही प्राविधिक समस्या बाहेक विद्युत् अवरुद्ध नहुने बताए पनि समय समयमा विद्युत् अवरुद्ध हुँदा मानिसले हैरानी खेप्न बाध्य छन् ।

विद्युतको आपूर्ति अनियमित हुँदा कतिपय कार्यालयका नियमित काम प्रभावित भएका छन् । अहिले धेरै कार्यालयमा विद्युतका अन्य वैकल्पिक उपकरणको प्रयोग नभएकाले काम प्रभावित भएको छ ।

नेपाल विद्युत प्राधिकरणले यस सम्बन्धमा आफूहरु जानकार रहेको जनाएको छ । भोल्टेज पर्याप्त मात्रामा नपुग्दा यो समस्या आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सुपरभाइजर कृष्णबहादुर मोतेका अनुसार विद्युतको खपत बढी हुने गरेको र सोही मात्रामा भोल्टेज नपुगेकाले बेला–बेला विद्युत अवरुद्ध हुने गरेको छ । उनले भने, “अहिले बेला बेला उपत्यकामा विद्युत् जाने समस्या साँचो हो । माग बमोजिमको भोल्टेज नपुग्दा यस्तो हुने गरेको छ ।”

प्रयाप्त सबस्टेसन नहुँदा समस्या

अहिले पर्याप्त मात्रामा सबस्टेसन नहुँदा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सुपरभाइजर मोतेका अनुसार भोल्टेज नपुग्नुको मुख्य कारण सबस्टेनको समस्या नै हो ।

अहिले उपत्यकाका तीन जिल्लामा १० वटा मात्र सबस्टेसन छन् । उपत्यकामा १० वटा सबस्टेसनले धान्न नसक्ने भएकाले अझै २० वटा सबस्टेसनहरु थप्नुपर्ने आवश्यकता रहेको उनले बताए । अहिले नेपालमा पर्याप्त मात्रामा विद्युत् उत्पादन भए पनि प्रसारण लाइन र सबस्टेसन पर्याप्त नभएकाले आपूर्तिमा समस्या भएको उनले बताए।

उनले भने, “अहिले नेपालमा विद्युतको उत्पादन बढेको छ । तर, पर्याप्त मात्रामा सबस्टेसन र प्रसारण लाइनको अभाव भएकाले माग भएजति विद्युत् आपूर्ति गर्न भोल्टेजको समस्या भएको छ ।” भोल्टेज मिलाउनका लागि कुनै स्थानमा विद्युत् केही बेर बन्द गरेर यसको व्यवस्थापन गरिएको उनले बताए।

प्राधिकरणले शनिवार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गरेकाले अब भने उपत्यकामा यो समस्या केही रुपमा समाधान हुने उनको भनाइ छ । उनले भने, “शनिवार टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गरेकाले अब भने पटक पटक विद्युत् अवरुद्ध हुने समस्या केही समाधान हुनेछ । ”

-आजको गोरखापत्र दैनिकबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts