भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो

भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो : Icon Khabar

काठमाडौं, असार २१ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान ५ किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन बिहीबार पहिलो भएका छन् । धर्म पुरुष तथा कल्पना महिलामा पहिलो भएका हुन् ।

अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताका पदक विजेता एवं विश्वका प्रसिद्ध म्याराथन लन्डन, बोस्टन, बर्लिन, टोकियोलगायतका म्याराथन दौडिसकेका धर्मले निर्धारित दूरी १८ मिनेट ४८ सकेन्डमा पूरा गरे । भीमबहादुर गुरुङ दोश्रो तथा राजेश महर्जन तेश्रो भए ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्च नेपालद्वारा संयुक्त आयोजित दौडमा कल्पनाले दूरी २८ मिनेट ४० सेकेन्डमा तय गरिन् । याङदी लामा शेर्पा दोश्रो तथा सिता रिमाल तेश्रो स्थानमा रहे ।

बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा प्रत्यक वर्ष आयोजना गरिने शुभकामना दौडमा ६७ प्रतिस्पर्धी सहभागी थिए । १२ औं संस्करणको सांगीतिक प्रस्तुती यो वर्षको अगष्टमा इङल्यान्डको लन्डनमा हुँदै छ । १० औं अमेरिकामा भएको थियो । ‘स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड’ नारा दिइएको दौडमा बुद्धवीर लामा आफै पनि दौडेका थिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी राखेपमै आएर टुंगिएको थियो ।

विजेतालाई एथलेटिक्सका पूर्व प्रशिक्षक मधुशमशेर राणा, नेपाल भलिबल संघकी पूर्व सदस्य एवं समाजसेवी ज्योति केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यअघि दौडको दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धरले उद्घाटन गरेका थिए ।
सो अवसरमा तीनपटककी एभरेष्ट म्याराथन विजेता याङदी लामा शेर्पा, धावकद्वय पुष्पलाल महर्जन र लाक्पा शेर्पा लामालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 July 2023
Website | + posts