भक्तपुरमा आधारभूत स्काउट मास्टर तालिम सम्पन्न

भक्तपुरमा आधारभूत स्काउट मास्टर तालिम सम्पन्न : Icon Khabar

भक्तपुर, असार १८ । भक्तपुर नगरपालिकाको आयोजना तथा स्थानीय स्काउट कार्यालयको संयोजनमा सञ्चालित ५ दिने ६ राते आधारभूत स्काउट मास्टर तालिम सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख तथा स्थानीय स्काउट संरक्षक सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विद्यालयका प्रशिक्षार्थी शिक्षकहरुलाई प्रमाणपत्र वितरण सहित सम्पन्न भएको हो।

सोही कार्यक्रममा प्रमुख प्रजापतिले विश्वमा देखिएको खाद्य संकटलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्काउटीङ सीपले न्यूनीकरण गर्न संसारलाई योगदान पुर्याउने बताउँदै विनम्रता र जस्तोसुकै संकटको घडीमा समेत सहयोग गर्न तत्परताले देश र समाजको लागि योग्य नागरिक तयार नै स्काउटीङको लक्ष्य भएको बताए।

उनले प्रतिस्पर्धी समयमा योजनाविहिन नीतिले युवा विद्यार्थीहरु अध्ययन तथा रोजगारीको नाउँमा विदेश पलायनले देशभित्रका कलेज क्याम्पस बन्द हुने अवस्था आएको बताउँदै भविष्यमा देश र समाजका लागि योग्य तथा स्वयंसेवक जनशक्ति उत्पादनको तयारी स्वरुप विद्यालयहरुमा सञ्चालन हुने स्काउट कक्षाले टेवा पुर्याउने बताए।

उक्त कार्यक्रममा स्थानीय स्काउट प्रमुख तथा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र समाजप्रति मायाको भावना ६ वर्षदेखि १० वर्ष उमेरका विद्यार्थीहरुलाई जगाउन स्काउटीङ उपयोगी भएको बताउँदै इतिहास, मातृभाषा, कलासंस्कृति, अध्ययन गर्ने विद्यार्थीहरुलाई नगरपालिकाले गरेको छात्रवृतिको व्यवस्था सम्बन्धी जानकारी दिए।

कार्यक्रममा भनपा वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजूले जस्तोसुकै विपतको समयमा सहयोग गर्न हरदम तयार स्काउटीङमा रहेको बताउँदै देशको संकटमा विद्यार्थीलाई देश र समाजप्रति इमान्दारपूर्वक तयारी रहन व्यवहारिक रुपमा स्काउटीङले सहयोग गर्ने विश्वास व्यक्त गरे।

सोही कार्यक्रममा भक्तपुर नगर शिक्षा शाखाका प्रमुख तथा स्थानीय स्काउट सदस्य सचिव कृष्णप्रसाद कर्माचार्यले गुणस्तरीय शिक्षाको लागि स्काउटीङ सहयोगी हुने बताउँदै नगरका विद्यालयमा स्काउट सञ्चालनका लागि भएका चुनौतिको सामना गर्न सहजीकरणको लागि निकट भविष्यमा विद्यालयका प्रअ तथा प्रिन्सिपलहरुको अभिमुखीकरण कार्यक्रम संचालन हुने जानकारी दिए।

स्थानीय स्काउट संयोजक तथा तालिम संयोजक कृष्णसन्दर प्रजापतिको सभापतित्वमा सम्पन्न भएको तालिलमा बागमती प्रदेश सदस्य एवम् भक्तपुर जिल्ला समन्वयकर्ता अच्युत प्रजापति, एसिया प्यासिफिकका संयोजक मैया त्वायनाबासु, कोर्ष लिडर पवनकुमार बल्ल, रत्नश्वरी चवाल तथा प्रशिक्षार्थी द्वय धु्रवराज खनाल र सलिना बस्नेतले बोलेका थिए ।

झण्डै १८ वर्षपछि नयाँ पाठ्यक्रम अनुसार पहिलो पटक भक्तपुर नगर भित्रका विद्यालय शिक्षकहरुको लागि सञ्चालन भएको आधारभूत स्काउट तालिम अन्तर्गत १८६ र १८७ औं कब बिटिसी तालिममा ३८ जना नगरका शिक्षक तथा १७७ औं ब्राउनी आउल पिटिसी तालिममा नगरका २४ जना महिला शिक्षक गरी ६२ जना शिक्षकशिक्षिकाको सहभागिता रहेको कब कोर्षलिडर पवनकुमार बल्लले बताए।

बागमती प्रदेश सल्लाहकार एवम् पूर्व राष्ट्रिय तालिम आयुक्त भक्त राजभण्डारीले कब ब्राउनीको कथालाई प्रयोगात्मक सीप र अभिनयको माध्यमबाट प्रशिक्षण दिएका थिए।

शैक्षिक गुणस्तर केन्द्रका निर्देशक नारायण प्रसाद झाले बाल मनोविज्ञान तथा मानवीय व्यवहार तथा एसिया प्यासिफिकका संयोजक मैया त्वायनाबासुले पुरुष र महिला स्काउटको अन्तराष्ट्रिय संघसंस्था वायक्स र ओजमको बारेमा प्रशिक्षण दिए।

सोही तालिममा स्काउटको चलनचल्तीमा रहेको गाँठोहरु किला पासो, कोइलिङ, ध्रुव गाँठो, विपिङ तथा डक्टरी गाँठो लगायत समूह कार्यको आवश्यकता, स्काउटका विभिन्न व्याच, झण्डा कार्य, स्काउटको राष्ट्रिय अन्तर्राष्ट्रिय संरचना एवम् पाठ्यक्रम तथा विद्यालयमा कब तथा ब्राउनी संचालन नीति तथा कार्यान्वयन सम्बन्धी प्रशिक्षणहरु भएका थिए ।

तालिममा पवनकुमार बल्ल, रत्नश्वरी चवाल तथा अच्युत प्रजापति कोर्षलिडरको रुपमा रहेका थिए भने हरिगोविन्द श्रेष्ठ, सोहन रञ्जित, बालकृष्ण बनमाला, रजिता श्रेष्ठ, दिलप्रसाद प्रजापतिु पुरञ्जली दुवाल, पुष्पा प्रजापति, न्हुज किजू तथा कृष्णसन्दर प्रजापतिले सहजकर्ताको भूमिका निभाई प्रशिक्षण दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 July 2023
Website | + posts