नेपाल वेस्ट इन्डिजसँग पराजित

नेपाल वेस्ट इन्डिजसँग पराजित : Icon Khabar

काठमाडौं, असार ७ । नेपाल आइसिसी विश्वकप छनोटमा चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अल आउट भयो ।

नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाए । त्यो रन जितको लागि पर्याप्त हुन सकेन । गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । नेपालका करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।

तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल पाँच रनमा बोल्ड आउट भए । जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा स्कुप खेल्न धुनमा भीम सार्की टप एज लागेर विकेटकिपर शाई होपबाट क्याच आउट हुन पुगे ।

जेसन होल्डरको बाउन्सर बलमा कप्तान रोहित पौडेल डिप फाइन लेगमा बैकल्पिक फिल्डर केसी कार्टीबाट क्याच आउट भएका थिए । रोहितले ४३ बलमा ३ चौकासहित ३० रन बनाए । कुशल मल्ल २ रनमा क्याच आउट भए । अकिल हुसैनको बलमा केसी कार्टीले सानदार क्याच लिँदै कुशललाई पेभेलिएन फर्काएका थिए ।

दीपेन्द्र सिंह ऐरी २० बलमा २ चौका र १ छक्कासहित २३ तथा आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भए । वेस्ट इन्डिजका जेसन होल्डरले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।

अकिल हुसैनले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । किमो पलले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनको कप्तानी इनिङ खेले ।

त्यस्तै निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । पुरनको यो ओडिआई करिअरको दोस्रो र होपको १५ औं शतक हो ।

पुरनले शतक बनाउन दुई जीवनदान पाएका थिए । विकेटकिपर आसिफ शेखले पुरनलाई ब्यक्तिगत ३ र ५४ रनमा क्याच ड्रप गर्दै जीवनदान दिएका थिए । त्यो हारको एक कारण बन्यो ।

एक समय वेस्ट इन्डिज १५.३ ओभरमा ५५–३ को अवस्थामा थियो । तर चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए । यी दुई खेलाडीको साझेदारी दीपेन्द्रले तोडेका थिए । दीपेन्द्रले ४४ औं ओभरको अन्तिम बलमा पुरनलाई कट एन्ड बोल्ड गर्दै पेभेलिएन फर्काएका हुन् । दीपेन्द्रले एक हातले उत्कृष्ट क्याच लिएका थिए ।

नेपालले सुरुवात भने सानदार गरेको थियो । ओपनर कायल मेयर्सलाई १ र जोनसन चाल्र्स डक आउट भएका थिए । ब्रेन्डन किंग ४२ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा आउट भए । रोभम्यान पावेल १४ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा आउट भए । किमो पल १ रनमा आउट हुँदा जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा नट आउट रहे ।

नेपालका स्पिनर ललित नारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ललितले नेपालको पहिलो र अन्त्य दुबै ओभर गरेका थिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । करण केसीले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिए ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिका समूह ए बाट लगातार तीन हारको साथ बाहिरिएको छ । नेपाल सुपर सिक्समा पुग्न शनिबार नेदरल्यान्ड्सलाई हराउनु पर्ने हुन्छ । नेपालले हराए मात्रै हुँदैन नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ । नेपाल नेदरल्यान्ड्ससँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने