नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका दुई जना बाहेक सबै अभियुक्तलाई थुनामा पठाउन आदेश

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका दुई जना बाहेक सबै अभियुक्तलाई थुनामा पठाउन आदेश : Icon Khabar

काठमाडौँ, असार २ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका दुई जना बाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । प्रहरीले मुद्दा चलाएकामध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राखिने भएकाे हाे ।

नक्कली शरणार्थी अमेरिका लैजाने भन्दै करोडौं रकम लिने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाई भएकाे थियाे ।

लक्ष्मी महर्जन र टंक गुरुङ भने धराैटीमा रिहा हुने भएका छन्। महर्जनसँग अदालतले ५ लाख र गुरुङसँग १० लाख धरौटी मागेको छ ।

तर पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे, योजनाकार भनिने केशव दुलाल र सानु भण्डारी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा,गोविन्द चौधरी, रामशरण केसी, पूर्व सभासद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शम्शेर मिया र हरिभक्त महर्जन पनि थुनामा पठाइएकाे छ ।

यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपछि टोपबहादुर रायमाझीको सांसद पद गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2023
Website | + posts