ख्वप कलेजद्वारा आयोजित दुई दिने राष्ट्रिय सम्मेलनको आज दोश्रो दिन

ख्वप कलेजद्वारा आयोजित दुई दिने राष्ट्रिय सम्मेलनको आज दोश्रो दिन : Icon Khabar

भक्तपुर, जेठ १४ । विश्वविद्यालय अनुदान आयोगको सहकार्य र ख्वप कलेजको आयोजनामा Third National Conference, A Multidisciplinary Approach to Address Current Challaenges विषयक दुई दिने राष्ट्रिय सम्मेलन शनिबारबाट सुरु भएको छ ।।

सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी शनिबार उद्घाटन गरे।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुले समाजलाई बुद्धिजीवीकरण गर्न र भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले भक्तपुरका जनप्रतिनिधिहरुले असल नियतले इमानदारीपूर्वक जनताको सेवा गर्नुलाई नै ख्वप मोडलको रुपमा देशव्यापी रुपमा प्रचार भइरहेको बताउंदै असल राजनीति र नेतृत्वले व्यापक जनताको हित हुने हुंदा युवा विद्यार्थीहरुलाई राजनीति गर्न उत्साहित गर्नुपर्छ भने।

विकेन्द्रीकरण र स्वायत्तताको सिद्धान्तका आधारमा देश अगाडि बढ्न नसकेकै कारण नेपालमा संघीयता असफल हुंदै गएको बताउंदै अध्यक्ष बिजुकछेंले शासकहरुमा विवेक र नैतिकताको कमी भएकै कारण देश भ्रष्टाचारको अखडा बन्दै गइरहेको उल्लेख गरे। देशलाई बन्धक राख्ने विदेशी दलालहरुले देशको हितमा काम गर्न नसक्ने बताउंदै उहांले प्रदेश सरकराले आफ्नो औचित्यता प्रष्ट गर्न नसक्नु लज्जास्पद विषय भएको बताए।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विश्वविद्यालयहरु अनुसन्धानको केन्द्र बन्नुपर्ने धारणा राख्दै देश र समाजको लागि समर्पित जनशक्ति उत्पादन गर्ने उद्देश्यले भक्तपुर नपाले ८ वटा कलेजहरु सञ्चालन गर्दै आइरहेको बताए।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले सम्मेलन पूर्ण सफलताको शुभकामना दिंदै आगामी वर्षहरुमा पनि बौद्धिक गतिविधि र प्राज्ञिक अभ्यासले निरन्तरता पाउने विश्वास व्यक्त गरे। कोभिड १९ संक्रमणका कारण विश्व पर्यटनमा नकारात्मक असर पारेको बताउंदै उहांले शासकहरु देशको रक्षक हुनुपर्नेमा त्यसको विपरीत काम गरिरहेको बताए।

सांसद गोसाईले बौद्धिक वर्गको भूमिका र प्राज्ञिक क्षेत्रको अग्रसरताले देशको विकास र समृद्धि निर्धारण हुने बताउंदै बौद्धिक व्यक्तिहरुले आफ्नो ज्ञान तथा अनुसन्धानबाट प्राप्त विद्धता आफ्नै देशको हितको निम्ति उपयोग गर्नुपर्नेमा जोड दिए। उनले प्रदेशको नीति तथा कार्यक्रममा कुनै नवीनता नरहेको उल्लेख गर्दै शासक वर्गप्रति जनताको आक्रोश दिन प्रतिदिन बढ्दै गएको बताए।

भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले समाज विकासको निम्ति शिक्षा अति नै महत्वपूर्ण विषय भएको बताउंदै भक्तपुर नपाले ख्वप विश्व्विद्यालय सञ्चालनको लागि आवश्यक पुर्वाधारहरु निर्माण गर्दै आइरहेको बताईन्।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरुमा विद्यार्थीहरुको आवश्यकता र मागअनुरुप विभिन्न विषयहरु थप्दै गइरहेको बताउंदै २१ औं शताब्दीका चुनौती सामना गर्न सक्ने सक्षम जनशक्ति उत्पादनमा विशेष जोड दिंदै आएको बताईन्।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले परम्परागत ज्ञान र सीपलाई बचाइराख्नुपर्ने आवश्यकता औंल्याउंदै अनुसन्धानको लागि विश्वविद्यालय अनुदान आयोगको मुख ताक्नुपर्ने आवश्यकताको अन्त्य गर्न शैक्षिक संस्थाहरुले अनुसन्धानका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिए।

त्रिवि मानविकी तथा सामाजिक शास्त्र सड्ढायका डीन प्रा.डा. कुसुम शाक्यले सम्मेलनले नयाँ तथ्य पत्ता लगाउन सहयोग पुग्ने बताउंदै अनुसन्धान सैद्धान्तिक र व्यवहारिक दुवै ढंगबाट अगाडि बढाई त्यसबाट निस्केको निष्कर्षलाई व्यवहारिक रुपमा प्रयोगमा पनि ल्याउनु आवश्यक भएको बताईन्।

विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि डा. प्रमोद पौडेलले यस आर्थिक वर्षमा विश्वविद्यालय अनुदान आयोगमा अनुसन्धानको लागि ४०० वटा निवेदन परेकोमा २०० वटा अनुमोदन भएको र त्यसमा ख्वप कलेज पनि पर्न सफल भएकोमा बधाई दिए। उनले समाजका चुनौतीहरु सम्बोधनका लागि अध्ययन अनुसन्धानहरु सञ्चालन गरिने बताउंदै उहांले नेपालमा वर्षेनि ४० देखि ४५ करोड रकम अनुसन्धानको लागि खर्च भइरहेको तथ्य प्रस्तुत गरे ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए। त्यसैगरी शिक्षक कमिनिका न्याइंच्याइंले सम्मेलनमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायतका विषयमा ८० वटा भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने जानकारी गराए।

सम्मेलनको आज दोश्रो दिन संचालन हुँदैछ ।
-साभार: भक्तपुर नपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 May 2023
Website | + posts