दोधारा–चाँदनी सुख्खा बन्दरगाह: भारतले नेपाली सीमासम्मको पहुँच सडक खोल्यो

दोधारा–चाँदनी सुख्खा बन्दरगाह: भारतले नेपाली सीमासम्मको पहुँच सडक खोल्यो : Icon Khabar

वेदकोट, वैशाख २३ । भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ सम्म सुख्खा बन्दरगाहको पहुँच सडकको ट्र्याक खोलेको छ ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहका लागि भारतीय भूमिमा रहेका करिब २ हजार रुख काटेर नेपाली सीमासम्मको पहुँच सडक ट्रयाक खोलिएको छ ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले सीमावर्ती चक्करपुर बजारस्थित राष्ट्रिय राजमार्गबाट ​​नेपाल–भारत सीमासम्म पुग्ने सडकको ट्र्याक भारतीय पक्षले खोलेको जानकारी दिए ।

‘भारतीय पक्षले आफ्नो भूमिमा जङ्गल सफा गरेर पहुँच सडक ट्रयाक खोलेको छ’, उनले भने, ‘नेपाली सीमा भारततर्फ जाने सडकको ट्रयाक खोल्ने काम सकिएको छ ।

भारतको उत्तराखण्ड राज्यको चम्बावत जिल्लाको चकरपुर र नेपालको भूभाग गडीगोठबीच जोड्ने करिब चार किलोमिटर लम्बाईको चार लेनको पहुँच सडकको ट्रयाक खोलिएको छ ।

पहुँच सडक निर्माणका लागि ६ महिनाअघि दुई अर्ब रुपैयाँको ठेक्का दिइएको थियो । सम्झौतामा हस्ताक्षर भएको डेढ वर्षभित्र पहुँच सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ट्र्याक खुलेसँगै अबको काम पहुँच सडक कालोपत्र गर्ने हो । यो रुटले नेपाल र भारतबीचको व्यापार र यातायात सेवालाई जोड्नेछ ।

दोधारा चाँदनी नगरपालिका–१ मा सुख्खा बन्दरगाह निर्माणको तयारी भइरहेको छ । सुक्खा बन्दरगाह निर्माण विगत दुई दशकदेखि प्रचारप्रसारमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते निर्माण स्थलको निरीक्षण गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले तीन वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने गरी भारतसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्तर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्न भारत सहमत भएको बताए ।

‘भारतको तर्फबाट संरचना विकास गर्ने समझदारी भइसकेको थियो । इआइएको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणका क्रममा सुख्खा बन्दरगाहको एओयूमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

आयोजना निर्माणका लागि मायापुरी र गौरीशंकर सामुदायिक वनको करिब २८० बिघा जग्गा प्रयोग गरिनेछ ।

सुख्खा बन्दरगाहका लागि महाकाली नदीमा चार लेनको सिमेन्ट पुल निर्माण भएको छ । त्यसैगरी गड्डाचौकीदेखि दोधारा चाँदनी–१, मलेरिया नालासम्म आठ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिम भारतसँग व्यापारका लागि सिधै जोडिनेछ । साथै, यसले भारतको राजधानी नयाँ दिल्ली र औद्योगिक सहर रुद्रपुरमा सहज पहुँच पुर्‍याउनेछ।

Published Date: 06 May 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न