फ्लाई दुबईको विमानमा देखिएको समस्याको सत्यतथ्य छानबिन गर्न आन्तरिक छानबिन समिति गठन

फ्लाई दुबईको विमानमा देखिएको समस्याको सत्यतथ्य छानबिन गर्न आन्तरिक छानबिन समिति गठन : Icon Khabar

काठमाडौं, वैशाख १३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको विमानमा देखिएको समस्याको सत्यतथ्य छानबिन गर्न आन्तरिक छानबिन समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयपछि विमानको एउटा इन्जिनमा आगो लागेको थियो ।

घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको क्यानका उपमहानिर्देशक जगन्नाथ निरौलाले बताए । “अनुसन्धान निकायले छिट्टै सत्यतथ्य पत्ता लगाउनेछ। हामीले फ्लाईदुबईसँग चरा प्रहारको प्रमाण मागेका छौं। फ्लाईदुबईले आफ्नो विमानमा देखिएको कमजोरी लुकाउन नेपालको आकाशलाई असुरक्षित भन्न मिल्दैन,” उनले भने।

यसअघि फ्लाईदुबईले विमानले आफ्नो एउटा इन्जिनमा बर्ड हिट भएको दाबी गरेको थियो । तर, प्राधिकरणले आफ्नो दाबीलाई अस्वीकार गर्दै गलत सूचना फैलाएको भन्दै आफ्ना अधिकारीहरूलाई विमानस्थल प्रवेश गर्न रोक लगाएको छ।

फ्लाईदुबईका नेपाल प्रमुख र स्टेसन म्यानेजरले फ्लाईदुबईको इन्जिनमा चरा ठोक्किएपछि आगलागी भएको भ्रामक सूचना फैलाएको आरोपमा क्यानले उनीहरुको पास अस्थायी रुपमा निलम्बन गरेको उपमहानिर्देशक निरौलाले बताए । क्यानले तत्कालका लागि पास बन्द गरेको बताउँदै निरौलाले भने, ‘घटनाको वास्तविक कारण खुलेपछि यसबारे थप निर्णय गरिने छ ।

फ्लाईदुबईले विमानमा चरा ठोकेको भनी गलत सूचना फैलाएको दाबी गर्दै उनले भने, “फ्लाईदुबईको विमानमा खराबी देखिएको छ। टेक अफ हुनुअघि राम्रोसँग जाँच नगरिएको हुन सक्छ। आफ्नो गल्ती ढाकछोप गर्न भ्रामक समाचार फैलाएको छ। नेपालको आकाश सुरक्षित छैन भन्ने सन्देश विश्वलाई दिएको भ्रमपूर्ण समाचारले नेपालको आकाश र हवाई यात्रामा शंका पैदा गरेको छ ।त्यसको सत्यतथ्य छानबिन गर्न प्राधिकरणले फ्लाई दुबईका सुरक्षा अधिकृतलाई पत्राचार गरिसकेको छ । वास्तविकता के हो छानबिन गर्नुहोस्।”

क्यानले आन्तरिक छानबिन समिति गठनसँगै फ्लाईदुबईका सुरक्षा अधिकृतलाई घटनाको सत्यतथ्य पुष्टि गर्न पत्राचार गरेको छ । उपमहानिर्देशक निरौलाले आन्तरिक छानबिन समितिको प्रतिवेदनले घटनाको वास्तविक कारण खुल्ने बताए ।

सोमबार राति ९ः२० मा दुबईका लागि त्रिभुवन विमानस्थलबाट उडेको कल साइन एफडीबी ५७६ मा टेकअफको केही समयपछि नै प्राविधिक समस्या देखियो । इन्जिनमा समस्या थियो, र उडेको केही समयपछि आकाशमा आगोको फ्ल्यास देखियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 April 2023
Website | + posts