काठमाडौं, चैत २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीचको सहकार्य आवश्यक रहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको मात्रै प्रयासबाट दिगो विकास लक्ष्यको कार्यान्वयन हुन नसक्ने बताए । यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहनेछ ।
त्यसैले यी सबै क्षेत्रबीच समन्वय, सहकार्य र साझेदारी आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका खेल्नेछ भने अन्य क्षेत्रले पनि आ–आफ्नो दायित्व महसुस गर्दै दिगो विकासका लागि नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नुपर्ने उनले बताए ।
उनले दिगो विकास लक्ष्यको कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।
त्यसैले दिगो विकास लक्ष्य हासिल गर्न समग्र सरकारको अवधारणा अवलम्बन गर्न आवश्यक छ । उनले भने, “त्यसैले प्रदेश र स्थानीय तहमा दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न बलियो र प्रभावकारी संस्थागत संरचना निर्माण गर्न आवश्यक छ, साथै ती लक्ष्य र सूचकहरूलाई योजना, बजेट तथा कार्यक्रममा समेटेर कार्यान्वयन प्रक्रियामा लैजानुपर्छ ।”
उनले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप दिगो विकासका लक्ष्य कार्यान्वयनमा सरकारको जोड रहेको बताए । नेपालको संविधानले दिगो विकास लक्ष्य हासिल गर्नका लागि मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र नीति तथा अन्य व्यवस्था समेटेको र यसले दिगो विकास लक्ष्यको कार्यान्वयनको लागि आधार प्रदान गरेको बताए ।
‘हामीले चौधौं योजनाबाट बजेट र कार्यक्रममा दिगो विकासका लक्ष्यलाई आन्तरिक रुपमा भित्र्याउन थाल्यौं, हालको पन्ध्रौं योजना पनि दिगो विकास लक्ष्यसँग मेल खाने गरी तयार पारिएको छ’, उनले भने ।
Published Date: 07 April 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1