प्रधान सेनापति प्रभुराम शर्मालाई ‘एकाडेमी हल अफ फेम’ सम्मान

प्रधान सेनापति प्रभुराम शर्मालाई ‘एकाडेमी हल अफ फेम’ सम्मान : Icon Khabar

काठमाडौँ, चैत १३ । प्रधान सेनापति प्रभुराम शर्मा ‘एकाडेमी हल अफ फेम’ बाट सम्मानित भएका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पूरा गरी सेनाको सर्वोच्च पदमा नियुक्त भएका प्रधान सेनापति शर्मा ‘एकाडेमी हल अफ फेम’ बाट सम्मानित भएका हुन् ।

सोमबार प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुप जङ्ग थापाले शर्मालाई सम्मान पत्र प्रदान गरेका हुन् । कार्यक्रममा प्रधान सेनापति शर्माले सैनिक जीवनको प्रारम्भिक दिनमा प्रतिष्ठानका शिक्षकवर्गबाट प्राप्त हुने सैनिक मूल्य र मान्यता सहितको पेशागत ज्ञानले दुरगामी प्रभाव पार्ने बताए ।

उनले कठिनाईसँग जुध्न, चुनौतीको सामना गर्न, अभावसँग खेल्न, साहस र धैर्यतासँग मितेरी गाँस्न, दृढता, जिम्मेवारी, संकल्पलाई सारथी बनाउन तथा बौद्धिक विकासको लागि अध्ययनशील हुन प्रतिष्ठानमा प्रदान गरिने तालिमले ठूलो भूमिका खेल्ने बताए ।

शर्माले वर्तमान समयमा प्रविधिको विकाससँगै जटिल बन्दै गएको अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशसँग जुध्न बहुआयामिक विज्ञताको आवश्यकता रहेको समेत बताए । विभिन्न शिक्षण संस्थाबाट तालिम प्राप्त गरेका शिक्षार्थी मध्ये विशेष नियुक्ति र पद हासिल गर्नेलाई सम्मान गर्ने र उनीहरुको तस्बिर विशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा ‘एकाडेमी हल हफ फेम’ अधिष्ठापन समारोह आयोजना गरिएको हो ।

सोमबारको समारोहमा प्रधान सेनापतिले सि.सं. २० अधिकृत क्याडेट तालिमका गुरुवर्गलाई सम्मान गरेका थिए । नेपाली सेनाको इतिहासमा सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पूरा गरेका शिक्षार्थी मध्ये प्रधान सेनापतिको नियुक्ति पाउने महारथी शर्मा तेश्रो हुन् । यसअघि महारथी राजेन्द्र क्षेत्री (अ.प्रा.) र महारथी पूर्णचन्द्र थापा (अ.प्रा.) ले प्राप्त गरेका थिए ।

उक्त समारोहमा पूर्व प्रधानसेनापति त्रिविका उपकूलपति तथा प्राध्यापक, नेपाली सेनाका बहालवाला एवं अवकाश प्राप्त रथीबृन्द, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा डिन लगायत नेपाली सेनाका अधिकृतको उपस्थिति थियो । अधिष्ठापन कार्यक्रम पूर्व आजै आयोजित दीक्षान्त समारोहमा सि.सं. ६० अधिकृत क्याडेट तालिमका शिक्षार्थी अधिकृतलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. श्री धर्मकान्त बास्कोटाले प्रमाण–पत्र र प्रधान सेनापति शर्माले चारित्रिक प्रमाण पत्र वितरण गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयसँग नेपाली सैनिक प्रतिष्ठान सम्बन्धनको २५ औं वर्ष पुगेको अवसरमा आयोजित समारोहमा जाम्बियाका १, महिला ११ गरी जम्मा ८६ क्याडेटले मानविकीतर्फ कलाशास्त्रीबाट दीक्षित भएका छन् । हालसम्म सैनिक प्रतिष्ठानबाट विदेशी २३ जना सहित जम्मा २ हजार ८५५ जना स्नातकोपाधि सहित दीक्षित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts