अमरज्योतिद्वारा आयोजित इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट् शुक्रबार सम्पन्न

अमरज्योतिद्वारा आयोजित इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट् शुक्रबार सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ४ । अमरज्योति मन्टेश्वरी स्कूल / ज्ञानकुञ्ज कमलविनायक, भक्तपुरको आयोजना तथा संस्थागत विद्यालय संघ नेपाल (इसान) भक्तपुरको सहकार्यमा भएको इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट् शुक्रबार सम्पन्न भयो।

अमरज्योती मन्टेश्वरीका संस्थापक प्रिन्सिपल तथा अन्तराष्ट्रिय बाल विकास कार्यक्रमका सहजकर्ता किरण गोसाईको सभापतित्वमा संचालन भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले गरेका थिए । कार्यक्रममा इसान भक्तपुरका जिल्ला अध्यक्ष कृष्णराम त्वानाबासू, पशुपति मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरका डाइरेक्टर तथा कोभिडा प्रि स्कूलका संस्थापक प्रिन्सिपल अनिता काफ्ले अतिथिका रूपमा उपस्थित भएका थिए।

सो कार्यक्रमको निर्णायकमा इसिएलएफ नेपालका संस्थापक आशा अर्याल श्रेष्ठ, मोडल तथा कोरियोग्राफर आशिस नापित, गायक तथा संगीत प्रशिक्षक सुमन गैँडा र नृत्य प्रशिक्षक आशिष तामाङ रहेका थिए। निर्णायक मण्डलको सो समुहले साना साना विद्यार्थीहरुको स्टेज कभरेज, प्राविधिक क्षमता, भेषभुषा इत्यादीको आधारमा प्रस्तुतीको मूल्याङ्कन गरेको थियो।

प्रतिस्पर्धी विद्यालयहरु मध्ये ख्वप्रिङ्ग इङ्ग्लिश एकेडेमीले Most Talented Award, सामुदायिक इङ्ग्लिश सेकेण्डरी स्कूलले 1st Runner Up Award र वाइजल्याण्ड सेकेण्डरी स्कुलले 2nd Runner Up Award हातपार्न सफल भएको थियो।

यसैविच उत्कृष्ट ३ विद्यार्थीहरु एजे सेकेण्डरी स्कूलका अनिक राज शाक्य ,लिसा सेकेण्डरी स्कुलका प्रकृती मोक्तान र प्रभात सेकेण्डरी स्कुलका रसिका भट्टराईलाई उच्च कदरका साथ पदक तथा प्रमाण पत्र वितरण गरिएको थियो। सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

कुनैपनि कार्यक्रममा पहिलो, दोस्रो वा तेस्रो हुनमात्र जित्नु नभई सबैमाझ कुशलपूर्वक आफ्ना प्रतिभा प्रस्तुत गर्न सक्नुलाई पनि सफलताको रुपमा लिनुपर्छ भन्ने कुरा भक्तपुर नगरपालिकाका वडा नं.९ का वडा अध्यक्ष एवं समारोहका प्रमुख अतिथि रविन्द्र ज्याख्वले ब्यक्त गरे। वडा अध्यक्ष ज्याख्वले यस कार्यक्रम संचालन गरी बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउनको निम्ती अवसर दिएकोमा अमरज्योतिलाई आभार ब्यक्त गरेका थिए।

कार्यक्रममा सा रे ग मा प लिटल च्याम्प २०१९ को टप ४ मा पर्न सफल गायक आयुष केसीले आफ्नो विशेष प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि ज्याख्वमार्फत गायक केसी सम्मानित भएका थिए।

कार्यक्रमका सभापति एवं विद्यालयका प्रिन्सिपल किरण गोसाईले सम्पूर्ण विद्यार्थीहरु, विद्यालय प्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गर्दै सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

उनले भने, “बालबालिकाको जीवनको पहिले पाँच वर्ष उनीहरुको समग्र विकास र सुखका लागि अत्यन्त महत्वपूर्ण हुन्छन्। यस समयमा बालबालिकाहरूले द्रुत शारीरिक, ज्ञानात्मक, भावनात्मक, र सामाजिक परिवर्तनहरू गर्दछन् जुन उनीहरुको उज्ज्वल भविष्यको महत्वपुर्ण आधारको रूपमा स्थापित हुन्छ। त्यसैले बालबालिकाहरुसँग प्रत्यक्ष्य वा अप्रत्यक्ष सम्बन्ध रहेका जो कोहिले यो कुरालाइ बुझेर उनीहरुमा निहित प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने मायालु वातावरण दिनु पर्छ। “

अमरज्योति मन्टेश्वरी स्कूलले गर्ने कार्यक्रका लागि भविष्यमा पनि यस्तै साथ र सहयोग हुनेमा विश्वास व्यक्त गरे। उक्त कार्यक्रम संचालन अमरज्योतिमा अध्ययनरत कक्षा ५ का विद्यार्थी किलक्स गोसाई र छात्रा रचल बाटाले गरेका थिए।

अमरज्योति मन्टेश्वरी स्कुलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विगत लामो समय देखि शैक्षिक क्षेत्रमा टेवा पुर्याउदै आएको छ। नियमित रूपमा विद्यार्थीहरुको वृति विकास तथा कुशल व्यवहार, सीप विकासको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
0
+1
0
Published Date: 18 March 2023
Website | + posts