अध्यक्ष बिजुक्छेंद्वारा भक्तपुर नगरपालिकाको कम्पोष्ट मल उत्पादन केन्द्रको निरीक्षण

अध्यक्ष बिजुक्छेंद्वारा भक्तपुर नगरपालिकाको कम्पोष्ट मल उत्पादन केन्द्रको निरीक्षण : Icon Khabar

भक्तपुर, चैत ३ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. ८ लर्केस्थित भक्तपुर नगरपालिकाको कम्पोष्ट मल उत्पादन केन्द्रको शुक्रबार स्थलगत अवलोकन गरे।

अवलोकनपश्चात अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाको सीएनबीएम प्रविधिबाट कुहिने फोहोरलाई नगन्हाउने तरिकाले उच्च गुणस्तरको मल बनाउने प्रविधि नेपालजस्ता विकासोन्मुख देशको लागि उपयुक्त भएको बताउँदै रसायनिक मलको विकल्पको रुपमा कम्पोष्ट मलले काम गर्दा कृषकहरु लाभान्वित हुने बताए।

कम्पोष्ट मल उत्पादन केन्द्रमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य सतर्कता अपनाउने विषयमा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले कम्पोष्ट मल उत्पादनबारे नयाँ नयाँ तथ्यहरु पत्ता लगाइ कार्यरत कर्मचारीहरुलाई समयसापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने बताए।

नेपालमा रसायनिक मलमा अनुदान कटौती, मल अभाव र मूल्यवृद्धिको सन्दर्भ जोड्दै उहाँले सरकारले नेपालमै रसायनिक मल कारखाना स्थापना गर्नुपर्नेमा जोड दिए।
उहांले विकसित देशहरुबाट उत्पादन हुने कम्पोष्ट मल विधिबारे पनि अध्ययन अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै किसानहरुलाई समयमै मल उपलब्ध गराउन सके उत्पादकत्वमा समेत उल्लेख्य वृद्धि हुने बताए।

नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले कुहिने फोहोर व्यवस्थापन गर्दै सीएनबीएम विधिद्वारा कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको बताए। भक्तपुर नगरभित्रका घरघरबाट संकलित कुहिने फोहोरबाट उत्पादित कम्पोष्ट मल हाल विभिन्न सहकारीमार्फत कृषकहरुलाई सहुलियत दरमा बिक्री वितरणसुरु गरिसकेको उनले बताए।

भक्तपुर कृषकहरुको बाहुल्यता भएको जिल्लाको रुपमा परिचित भएको बताउनुहुँदै उहाँले नगरपालिकाले उत्पादन गरेको कम्पोष्ट मलको प्रयोगबाट किसानहरु लाभान्वित भएको बताए।

निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपाको वातावरण समितिका पदाधिकारीहरु रबिन्द्र ज्याख्व, योगेन्द्रमान बिजुक्छेँ, कृष्णप्रसाद कोजु, कृष्णप्यारी भुजु, मन्जुमैंया लाखाजु, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, मल उत्पादन केन्द्रमा कार्यरत कर्मचारीहरुलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts